अकल्याण्ड । नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि न्युजिल्याण्डमा रहेका नेपाली समुदायसँगै विभिन्न जातीय तथा बहुसांस्कृतिक समुदायहरू एकजुट भएका छन्। नेपालमा ठूलो जनधनको क्षति भएपछि न्युजिल्याण्डका विभिन्न शहरमा राहत रकम संकलन गर्न फन्डरेजिङ डिनर तथा सहयोग अभियान सञ्चालन भइरहेका छन्।

शहरका हरेकजसो स्थानमा भएका राहत संकलन कार्यक्रममा स्थानीय किवी समुदाय तथा स्थानीय व्यवसायीहरूको खुसी लाग्दो सहभागिता रहेको छ। उनीहरू मन खोलेर सकेको रकम सहयोग गरिरहेका छन्। यसरी सहयोग गर्नेहरूमध्ये धेरैले नेपाल सरकारले दिएको बैंक खातामा रकम जम्मा गरिदिएका छन् भने केहीले नगद तथा नेपाली समुदायले उपलब्ध गराएको खातामा रकम जम्मा गरेका छन्। तर, नेपाली समुदायहरूले कति रकम जम्मा भयो, कसले रकम दिए र कति दिने भन्नेबारे भने खुलाएका छैनन्। तर, सहयोग रकम प्राप्त भइरहेको र त्यससम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। यद्यपि, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले भने तीन दिनअघि आफ्नो खातामा प्राप्त सहयोग रकमको विवरण फेसबुक पेजमार्फत सार्वजनिक गरिसकेको छ।

नेपालमा बाढी तथा पहिरोका कारण परिवारका सदस्य गुमाएका, घर तथा सम्पत्ति नष्ट भएका र जीविकोपार्जनको आधार गुमाएका परिवारलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यी अभियान सञ्चालन गरिएको र संकलित सबै रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने आयोजकहरूले बताएका छन्।

यसैबीच, न्युजिल्याण्डको क्यान्टर्बरी, वाइकाटो र वेलिङ्टनसँगै अकल्याण्डमा समेत नेपालका बाढीपीडितका लागि सहयोग जुटाउन रात्रीभोजको आयोजना हुँदै छ। ती संस्थाका अधिकारीहरूले रात्रीभोज (डिनर)का लागि विभिन्न संघसंस्थाबाट सहयोगसमेत संकलन गरेका छन्।

क्यान्टर्बरीमा **नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टर्बरी इन्क.**को आयोजनामा आगामी सेप्टेम्बर १२ गते ‘टुगेदर फर नेपाल फन्डरेजिङ डिनर’ हुँदैछ। रोल्सटन कम्युनिटी सेन्टरमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुने कार्यक्रममा नेपाली खाना, सामुदायिक भेटघाट तथा राहत रकम संकलन गरिनेछ। कार्यक्रममा सहभागीका लागि प्रतिव्यक्ति ७५ न्युजिल्याण्ड डलर शुल्क तोकिएको छ।

क्यान्टर्बरीको कार्यक्रमबाट संकलित शतप्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ। उक्त रकम प्रभावित क्षेत्रमा तत्काल राहतसँगै पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

news-6a9ccb7a9b0cb-fond.webp

यस्तै, वाइकाटोमा **नेपाल न्युजिल्याण्ड वाइकाटो फ्रेन्डसिप सोसाइटी इन्क.**को पहलमा सेप्टेम्बर ९ गते नेपाल बाढी राहतका लागि फन्डरेजिङ डिनर आयोजना हुँदैछ। कार्यक्रममा नेपाली समुदायसँगै अन्य समुदायका संस्था, व्यवसायी, सामुदायिक अगुवा तथा स्वयंसेवक सहभागी हुने आयोजकले जनाएको छ।

वाइकाटोमा आयोजित अभियानमा वाइकाटो इन्डियन एसोसिएसन र वाइकाटो मल्टिकल्चरल काउन्सिल इन्क. लगायतका संस्थाले समेत ऐक्यबद्धता र सहयोग जनाएका छन्। कार्यक्रमबाट संकलित रकम पनि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताइएको छ।

यसैगरी, वेलिङ्टनमा द नेप्लिज सोसाइटी अफ वेलिङ्टनले सेप्टेम्बर ७ गते ‘टुगेदर फर नेपाल’ फन्डरेजिङ डिनर आयोजना गर्दैछ। पेटोनस्थित एभरेस्ट पेटोनमा साँझ ६ः३० बजेदेखि हुने कार्यक्रममा न्युजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न समुदायका अगुवा तथा सदस्यहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

वेलिङ्टनको कार्यक्रमलाई नेपाल एम्बेसी इन क्यानबेराको समेत समर्थन रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रतिव्यक्ति १५० न्युजिल्याण्ड डलर योगदान तोकिएको छ। संकलित रकम प्रधानमन्त्री कार्यालयमार्फत नेपालका बाढी तथा पहिरो प्रभावित समुदायको राहतका लागि पठाइने बताइएको छ।

अकल्याण्डमा न्युजिल्याण्ड नेपाल सोसाइटीले पनि सेप्टेम्बर ११ गते नेपाल बाढी राहतका लागि फन्डरेजिङ डिनर आयोजना गर्दैछ। फ्रिम्यान्स बे कम्युनिटी सेन्टरमा साँझ ६ बजेदेखि हुने कार्यक्रममा नेपाली समुदायका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रतिव्यक्ति १५० न्युजिल्याण्ड डलर योगदान तोकिएको छ।

अकल्याण्डको कार्यक्रमबाट संकलित रकम पनि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने आयोजकले जनाएको छ। स्थानीय नेपाली समुदायका विभिन्न संस्था तथा साझेदारहरूको सहकार्यमा आयोजना गरिएको कार्यक्रमले विपत्तिको समयमा सामूहिक सहयोग र ऐक्यबद्धताको सन्देश दिने आयोजकको भनाइ छ।

नेपालमा विपत्ति आएपछि न्युजिल्याण्डमा भइरहेका यी अभियानले नेपाली समुदायको स्वदेशप्रतिको भावनात्मक सम्बन्धसँगै यहाँका अन्य समुदायको मानवीय सहकार्यलाई समेत उजागर गरिरहेका छन्। भारतीय, बहुसांस्कृतिक तथा अन्य समुदायका संस्था र व्यक्तिहरूको सहभागिताले विपत्तिको समयमा समुदायबीचको एकता र सहकार्यलाई थप बलियो बनाएको छ। संकलित राहत रकमले प्रभावित परिवारका लागि आश्रय, स्वास्थ्य सेवा, अत्यावश्यक सामग्री तथा पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनीहरूले नेपालमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन् भने अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सुरक्षित उद्धारको कामना गरेका छन्।