काठमाडौं । बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको घटनाले खोज तथा उद्धार अभियानप्रति आशा जगाएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। फेसबुकमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै निरन्तर भइरहेको बताएका छन्। उनले चन्द्रिकाको उमेर समूह तथा त्योभन्दा बढी उमेरका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरेका छन्।

भोटेकोशीको विनाशकारी बाढीले ज्येष्ठ नागरिकसहित धेरै परिवारको घर, खेतबारी, पशुचौपाया र आफन्त गुमाएको भन्दै शाहले उनीहरूको पीडा शब्दमा व्यक्त गर्न कठिन रहेको बताएका छन्। कतिपय ज्येष्ठ नागरिकले बाढीका बेला आफ्ना सन्तान तथा नातिनातिनालाई जोगाउन ज्यान जोखिममा राखेर भाग्नुपरेको उनले स्मरण गरेका छन्।

बाढीका कारण नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन समेत क्षतिग्रस्त भएको शाहले बताएका छन्। त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको नेपाल सिनियर केयर, म्हैपीमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिएका छन्। उनीहरूका लागि ह्वीलचेयर र वाकरको व्यवस्था गर्नुका साथै स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा समेत सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री शाहले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकका लागि सुरक्षित स्थायी बसोबासको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन्। आफूलाई एक्लो नठान्नुहोस्, तपाईंहरूसँग यो राज्य र सरकार छ, भन्दै उनले पीडित ज्येष्ठ नागरिकलाई भरोसा राख्न आग्रह गरेका छन्।

बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति सामूहिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनीहरू परिवारका आधार, संस्कार र ज्ञानका स्रोत भएको बताएका छन्। साथै, आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै पीडितमाथि अनावश्यक टिप्पणी, अपमान वा थप पीडा दिने कार्य सह्य नहुने चेतावनी दिएका छन्।

शाहले बाढीपछि जोखिमपूर्ण क्षेत्रमा समेत सुरक्षाकर्मीले निरन्तर खोज तथा उद्धार गरिरहेको भन्दै उनीहरूको साहस र योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्। “हामीमाथि भरोसा राख्नुहोस्,” भन्दै उनले विपद्बाट प्रभावित नागरिकलाई सरकार साथमा रहेको सन्देश दिएका छन्।