काठमाडौं, गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रारम्भिक रूपमा ३२ हजार ९३३ जना प्रभावित भएको पाइएको छ। बाढीका कारण करिब ७ हजार ५७० घरमा क्षति पुगेको वा प्रभावित भएको प्रारम्भिक मूल्यांकनले देखाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा ‘र्‍यापिड ड्यामेज एन्ड निड्स एसेसमेन्ट’ (आरडीएनए) अन्तर्गत गरिएको प्रारम्भिक मूल्यांकनले यस्तो तथ्यांक देखाएको हो।

बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार करिब ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। यसअघि सडक विभागले सडक तथा मोटरेबल पुलमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो।

‘हिमालयन सुनामी’का रूपमा समेत वर्णन गरिएको उक्त बाढीले करिब १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना र दुईवटा प्रसारण लाइनमा क्षति पुर्‍याएको छ। प्रारम्भिक मूल्यांकनअनुसार बाढीका कारण ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ।

यद्यपि, क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन। एनडीआरआरएमएका अनुसार विज्ञ टोलीले अन्तिम प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ र प्रतिवेदन आइतबारसम्म तयार हुने सम्भावना छ।

परराष्ट्र मन्त्रालयले विपद्बाट भएको क्षतिको व्यापकता र गम्भीरतालाई ध्यानमा राख्दै क्षति तथा पुनर्निर्माणको वास्तविक आवश्यकता पहिचान गर्न ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ (पीडीएनए) समेत एकैसाथ अघि बढाइएको जनाएको छ।

यसैबीच, प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने र प्रभावित नागरिकसम्म राहत सामग्री समयमै पुर्‍याउने कामलाई तीव्रता दिइएको छ।

नेपाली सेना र इन्जिनियरहरूको टोलीले टाडी नदीमा अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनः सञ्चालन गर्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै, त्रिशूली इन्द्रेणीघाट र देविघाटमा एक–एक वटा केबल पुली सञ्चालनमा ल्याइएको छ।

उद्धारका लागि विदेशी टोली परिचालन

विपद्पछिको खोज तथा उद्धार कार्यमा सहयोग गर्न विभिन्न मित्रराष्ट्रका विशेषज्ञ टोली नेपाल आइपुगेका छन्। अस्ट्रेलियाको १५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स एन्ड रेस्पोन्स टिम’ (डार्ट) शुक्रबार नेपाल आइपुगेको छ भने मलेसियाको ११ सदस्यीय ‘स्पेसल मलेसियन डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम’ (स्मार्ट) शनिबार बिहान नेपाल आइपुगेको छ।

भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धारसम्बन्धी टोलीले नेपाली सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। छिमेकी तथा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त उद्धार उपकरण, ड्रोन, लोड क्यारियरलगायतका सामग्री खोज तथा उद्धारमा प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ।

उच्च जोखिममा रहेका जलविद्युत् आयोजनामा खोज तथा उद्धारलाई निरन्तरता दिन थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ। अपर त्रिशूली–१, अपर त्रिशूली–३ए, अपर त्रिशूली–३बी, यू२१६ हाकु, चिलिमे र लाङटाङलगायत आयोजनामा खोज तथा उद्धार कार्य जारी छ।

तातोपानी नाकाबाट नेपालीको उद्धार

विपद्का कारण तिब्बतमा रोकिएका तथा प्रभावित भएका १२७ जना नेपाली शनिबार तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्।

यसअघि शुक्रबार पनि १५५ जना नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किएका थिए। चीनमा रहेका नेपाली नियोग र चिनियाँ अधिकारीबीचको समन्वयमा यसअघि केरुङ–कोराला नाकाबाट समेत नेपाली नागरिकलाई स्वदेश ल्याइएको थियो।

बाढीका कारण रसुवागढी–केरुङ सीमा पूर्ण रूपमा बगाएपछि तिब्बततर्फ गएका पर्यटक तथा तीर्थयात्रीसमेत नेपाल फर्किन तातोपानी नाका प्रयोग गर्न थालेका छन्।