बे अफ प्लेन्टी । नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै न्युजिल्याण्डको बे अफ प्लेन्टीस्थित नेपाली संस्था नेप्लिज एसोसिएसन बे अफ प्लेन्टि (एनएबीओपी)ले आगामी १२ सेप्टेम्बर २०२६ का लागि तय गरिएको तीज कार्यक्रम रद्द गरेको छ।
गत २६ अगस्टमा नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित र प्रभावित भएका छन्। विपत्तिबाट सिर्जित पीडा र मानवीय संकटलाई ध्यानमा राख्दै अहिले उत्सवभन्दा पनि मातृभूमिमा रहेका पीडित नेपालीका पक्षमा समुदाय एकजुट हुनुपर्ने निष्कर्षसहित कार्यक्रम रद्द गरिएको एनएबीओपीले जनाएको छ।
संस्थाले कार्यक्रम रद्द गर्नुपरेकोमा समुदायसँग क्षमायाचना गर्दै यस कठिन समयमा देखाएको समझदारी, साथ र समर्थनप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रमका लागि यसअघि नै टिकट खरिद गरिसकेका सबै व्यक्ति तथा परिवारलाई पूर्ण रकम फिर्ता गरिने संस्थाले जनाएको छ। टिकट रकम फिर्ताका लागि संस्थाका कोषाध्यक्ष हरि शर्माले सम्बन्धित टिकटधनीहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाउनेछन्।
NABOP ले यस विपत्तिको समयमा समुदायलाई एकजुट भई नेपालमा भइरहेको मानवीय संकटबारे जनचेतना फैलाउन, राहत अभियानमा सहयोग जुटाउन तथा बाढीपीडित परिवारलाई सक्दो सहयोग गर्न आह्वानसमेत गरेको छ।
संस्थाले नेपाललाई अहिले सबैभन्दा बढी साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै समुदायका सदस्यहरूलाई राहत तथा पुनर्निर्माणका प्रयासमा हातेमालो गर्न आग्रह गरेको छ।
‘नेपाललाई अहिले हाम्रो साथ चाहिएको छ। एकजुट बनौँ, आफ्ना पीडित दाजुभाइ तथा दिदीबहिनीको साथ दिऔँ र नेपाललाई पुनः उठाउन सहयोग गरौँ’ भन्ने सन्देशसहित एनएबीओपीले विपत्तिमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
नेपालमा भएको विपत्तिबाट प्रभावित सबै परिवारप्रति संस्था तथा बे अफ प्लेन्टीको नेपाली समुदायले ऐक्यबद्धता जनाउँदै उनीहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।