अकल्यान्ड । न्युजिल्यान्डको अकल्यान्डमा हाम्रो एकताले आयोजना गर्न लागेको तीज मेला २०२६ मार्फत नेपालका बाढीपीडितलाई सहयोग गरिने भएको छ। तीज मेलाको आयोजक हाम्रो एकता कार्यसमितिको बैठकले बिक्री हुने प्रत्येक टिकटबाट २ न्युजिल्यान्ड डलर नेपालका बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको हो।

नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले हरेक टिकटबाट २ डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने सामूहिक निर्णय गरिएको हाम्रो एकताका अध्यक्ष सौरभ बस्नेतले जानकारी दिए।

अध्यक्ष बस्नेतका अनुसार विपत्तिमा परेका नेपालीलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। उनले भने, “हामी थोपा–थोपा संकलन गरेर नेपालका पीडितसमक्ष राहत पुर्‍याउन लागिपरेका छौँ। अहिले गरिएको यो निर्णय पनि त्यही अभियानको एउटा अंश हो।”

तीज मेलाको टिकटलाई केवल कार्यक्रममा प्रवेश गर्ने माध्यमका रूपमा नभई संकटको समयमा नेपाल र नेपाली समुदायप्रति सहयोग र ऐक्यबद्धता जनाउने अवसरका रूपमा लिन आयोजकले आग्रह गरेको छ। अध्यक्ष बस्नेतले भने, “हामी कुनै न कुनै माध्यमबाट नेपालका बाढीपीडितलाई सहयोग गर्न सबैलाई अपिल गर्दछौँ। सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ।”

हाम्रो एकताले यस वर्षको तीज मेलाका लागि ‘हरेक टिकट केवल कार्यक्रममा प्रवेश होइन, कठिन समयमा नेपाललाई सहयोग गर्ने सानो योगदान पनि हो’ भन्ने सन्देशलाई अघि सारेको छ। आयोजकले अकल्यान्डमा रहेका नेपाली समुदायसँगै अन्य शुभेच्छुकलाई पनि कार्यक्रममा सहभागी भई बाढीपीडितप्रतिको सहयोग र ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

तीज मेलामा खेम सेन्चुरी र समीक्षा अधिकारी

हाम्रो एकताको तीज मेला आगामी सोमबार, ७ सेप्टेम्बर २०२६ मा अकल्यान्डस्थित महात्मा गान्धी हलमा आयोजना हुँदैछ। मेलामा नेपालका चर्चित लोकगायक खेम सेन्चुरी र गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा लोक गायक तथा गायिकाको संयोजन खेम सेन्चुरी र गायिका समीक्षा अधिकारीको संयोजन लाले इभेन्ट्सले गरेको हो।

आयोजकका अनुसार नेपालबाट आउने कलाकारद्वयले अकल्यान्डमा हुने तीज मेलासँगै साउथ आइल्यान्डमा समेत सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। नेपाली महिलाको महत्वपूर्ण पर्व तीजलाई प्रवासमा पनि नेपाली कला, संस्कृति र परम्परासँग जोडेर मनाउने उद्देश्यले आयोजना गरिएको मेलामा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसँगै समुदायको सहभागिता रहने आयोजकले जनाएको छ।

news-6a976cefd6df3-tejaa.webp