अकल्यान्ड । न्युजिल्यान्डको प्राथमिक स्वास्थ्य सेवा प्रणालीमाथि बढ्दो दबाबबीच जनरल प्राक्टिसलाई दीर्घकालीन रूपमा दिगो बनाउन थप सरकारी लगानी, चिकित्सक–बिरामीबीच निरन्तर सम्बन्ध र पर्याप्त स्वास्थ्य जनशक्तिको माग गरिएको छ। स्वतन्त्र जनरल प्राक्टिस तथा आकस्मिक स्वास्थ्य केन्द्रका सञ्चालकहरूको प्रतिनिधिमूलक संस्था जनरल प्राक्टिस ओनर्स एसोसिएसन (जेनप्रो) ले आगामी नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै जनरल प्राक्टिस सुधारका लागि सातबुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
जाडो मौसममा फ्लु तथा अन्य मौसमी रोगका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेका बेला लामो समयदेखिको अपर्याप्त लगानी र स्वास्थ्यकर्मीको अभावले प्राथमिक स्वास्थ्य सेवा थप दबाबमा परेको जेनप्रोको भनाइ छ। संस्थाका अध्यक्ष डा. एङ्गस चेम्बर्सले जनरल प्राक्टिस न्युजिल्यान्डको स्वास्थ्य प्रणालीको पहिलो प्रवेशद्वार भएको उल्लेख गर्दै समुदायमै सही समयमा उपचार उपलब्ध गराउन सकिए अस्पतालमा पर्ने दबाबसमेत घटाउन सकिने बताए।
“जनरल प्राक्टिस आर्थिक रूपमा दिगो हुनुपर्छ र बिरामीको मागअनुसार पर्याप्त चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी उपलब्ध हुनुपर्छ,” चेम्बर्सले भने।
तीन वर्षमा ३० प्रतिशत लगानी वृद्धि
जेनप्रोले आगामी तीन वर्षमा जनरल प्राक्टिसका लागि सरकारी लगानी कुल ३० प्रतिशतले वृद्धि गर्न माग गरेको छ। स्वास्थ्य सेवा प्रदान गर्न लाग्ने वास्तविक लागतका आधारमा बजेट समायोजन गर्ने स्वतन्त्र संयन्त्र बनाउनुपर्ने तथा स्वास्थ्य संस्थालाई दीर्घकालीन योजना बनाउन सहज हुने गरी पाँच वर्षे लगानीको स्पष्ट मार्ग तय गर्नुपर्ने उसको माग छ।
जटिल स्वास्थ्य आवश्यकता भएका बिरामीका लागि लक्षित अतिरिक्त बजेट तथा ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाका लागि छुट्टै सहयोग उपलब्ध गराउन पनि जेनप्रोले आग्रह गरेको छ।
एउटै चिकित्सकसँग निरन्तर उपचार
जेनप्रोले बिरामी र स्वास्थ्यकर्मीबीचको दीर्घकालीन सम्बन्धलाई प्राथमिक स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्ने बताएको छ। प्रत्येक दर्ता भएका बिरामीले सम्भव भएसम्म आफूलाई नियमित रूपमा हेर्ने GP वा नर्स प्राक्टिसनरसम्म पहुँच पाउने व्यवस्था हुनुपर्ने उसको माग छ।
त्यस्तै, फेस–टु–फेस परामर्शलाई प्राथमिक स्वास्थ्य सेवाको आधार कायम राख्नुपर्ने र टेलिहेल्थलाई प्रत्यक्ष उपचारको विकल्प नभई सहयोगी माध्यमका रूपमा प्रयोग गर्नुपर्नेजेनप्रोको धारणा छ। डा. चेम्बर्सका अनुसार प्रत्यक्ष भेटघाटमा बिरामीको स्वास्थ्य अवस्था मूल्यांकन गर्न थप जानकारी प्राप्त हुने र आवश्यक शारीरिक परीक्षण गर्न सकिने भएकाले सबै उपचार टेलिहेल्थमार्फत सम्भव नहुने बताए।
ग्रामीण क्षेत्रमा चिकित्सक टिकाइराख्न चुनौती
ग्रामीण तथा दुर्गम क्षेत्रमा जीपी र अन्य स्वास्थ्यकर्मीको अभाव समाधान गर्न थप सरकारी सहयोग आवश्यक रहेको जेनप्रोले जनाएको छ। ग्रामीण स्वास्थ्य संस्थामा जनशक्ति भर्ना तथा टिकाइराख्न प्रोत्साहन, पूर्वाधार विकास र डिजिटल कनेक्टिभिटी विस्तारमा लगानी बढाउनुपर्ने माग गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा कमजोर हुँदा बिरामी अस्पताल तथा आकस्मिक विभागमा पुग्ने क्रम बढ्न सक्ने संस्थाको भनाइ छ।
प्रशासनिक बोझ घटाउनुपर्ने
जेनप्रोले स्वास्थ्यकर्मीमाथिको अनावश्यक प्रशासनिक तथा कागजी काम घटाएर उनीहरूलाई बिरामीको उपचारमा बढी समय केन्द्रित हुने वातावरण बनाउनुपर्ने बताएको छ। स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको ठूलो हिस्सा अग्रपंक्तिको बिरामी सेवामा पुग्ने गरी वित्तीय प्रणालीमा थप पारदर्शिता आवश्यक रहेको संस्थाले जनाएको छ। स्वतन्त्र तथा समुदायमा आधारित जनरल प्राक्टिसको स्वामित्व मोडल संरक्षण गर्नुपर्ने र सरकारी नीतिले विविध तथा समुदायकेन्द्रित प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई समर्थन गर्नुपर्ने माग पनि घोषणापत्रमा समेटिएको छ।
विदेशमा प्रशिक्षित स्वास्थ्यकर्मीलाई अवसर
न्युजिल्यान्डमा स्वास्थ्यकर्मीको अभाव कम गर्न विदेशमा योग्यता हासिल गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग उपलब्ध गराउन जेनप्रोले माग गरेको छ। त्यस्तै, नयाँ पुस्ताका GP चिकित्सकलाई स्वतन्त्र जनरल प्राक्टिसको स्वामित्वमा सहभागी हुन सहज हुने वातावरण बनाउनुपर्ने बताइएको छ।
स्वास्थ्य सेवा, बजेट, सेवा संरचना र नीतिमा महत्वपूर्ण परिवर्तन गर्नुअघि जेनप्रो लगायत जनरल प्राक्टिस क्षेत्रका प्रतिनिधिलाई प्रारम्भिक चरणमै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने माग पनि गरिएको छ।
अस्पतालको चाप घटाउने उपाय प्राथमिक स्वास्थ्य सेवा
अकल्यान्ड र वेलिङ्टनका अस्पतालका आकस्मिक विभागमा पछिल्ला साताहरूमा बिरामीको चाप बढिरहेको अवस्थामा प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउनु अझ महत्वपूर्ण भएको चेम्बर्सले बताए। उनका अनुसार दीर्घरोगको प्रभावकारी व्यवस्थापन, रोगको प्रारम्भिक पहिचान र रोकथाममा जनरल प्राक्टिसले महत्वपूर्ण भूमिका खेल्छ।
“दीर्घरोगलाई राम्रोसँग व्यवस्थापन गर्न सके बिरामीको अवस्था गम्भीर हुनबाट रोक्न सकिन्छ र यसले अस्पतालमा पर्ने दबाब घटाउँछ,” उनले भने। जेनप्रोले सार्वजनिक गरेको सातबुँदे घोषणापत्रमा अग्रपंक्तिको प्राथमिक स्वास्थ्य सेवामा लगानी, चिकित्सक–बिरामी निरन्तरता, ग्रामीण तथा आकस्मिक सेवाको सुदृढीकरण, प्रशासनिक बोझ घटाउने, स्वतन्त्र जनरल प्राक्टिसको संरक्षण, नीतिनिर्माणमा जनरल प्राक्टिसको बलियो आवाज र दिगो स्वास्थ्य जनशक्ति निर्माणलाई प्राथमिकता दिइएको छ।
चेम्बर्सले घोषणापत्र राजनीतिक दलहरूलाई समस्या सुनाउने दस्तावेज मात्र नभई जनरल प्राक्टिसलाई दीर्घकालीन रूपमा दिगो बनाउने व्यावहारिक मार्गचित्र भएको बताए। उनले अहिले लगानी गर्न नसके भविष्यमा स्वास्थ्य प्रणालीमाथिको आर्थिक तथा सेवागत दबाब अझ बढ्ने चेतावनी दिँदै आगामी निर्वाचनमा राजनीतिक दलहरूले प्राथमिक स्वास्थ्य सेवाको दीर्घकालीन स्थायित्वलाई स्पष्ट नीतिगत प्राथमिकता दिनुपर्ने आग्रह गरेका छन्।