काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुट्न थालेका छन्। अध्यागमन विभागका अनुसार बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजीका लागि आफन्तहरूले नेपाल प्रवेश र बाहिरिएका व्यक्तिको विवरणसमेत माग्न थालेका छन्।
अध्यागमन विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार विनाशकारी बाढीपछि नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको खबर सार्वजनिक भएसँगै विभिन्न देशका राजदूतावास तथा कन्सुलर निकायमार्फत मात्रै नभई आफन्त स्वयं अध्यागमन कार्यालयमा पुगेर खोजीमा सहयोग मागिरहेका छन्। लम्सालका अनुसार तीर्थयात्रा, पर्यटन तथा अन्य कामका सिलसिलामा नेपाल–चीन सीमाक्षेत्र पुगेका विदेशी नागरिकका आफन्त नेपाल आएर अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र, अध्यागमन विभाग र घटनास्थल आसपासमा खोजी गरिरहेका छन्।
कतिपय आफन्तले बेपत्ता व्यक्तिले नेपाल प्रवेश गरेको वा नेपालबाट बाहिरिएको विवरण मागेर खोजी अघि बढाइरहेका छन्। कतिपयले सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत यात्रा विवरण संकलन गरी आफन्तका तस्बिर तथा व्यक्तिगत विवरणसहित अस्पताल र शव पहिचान केन्द्रमा पुगेर खोजी गरिरहेको विभागले जनाएको छ।
आफन्तको खोजीका लागि नेपाल आउनेमा भारत, चीन, अमेरिका, युक्रेन, माल्टा, बेलायत, मलेसिया र अस्ट्रेलियालगायत देशका नागरिक बढी रहेको लम्सालले जानकारी दिए।
बाढी आउनुअघि ८९ जना चीनतर्फ गएका थिए
अध्यागमन विभागका अनुसार भदौ १० गते बुधबार बिहान बाढी आउनुअघि टिम्बुरेस्थित अध्यागमन कार्यालयबाट नेपाली तथा विदेशी गरी ८९ जना चीनतर्फ प्रस्थान गरेका थिए। सोही अवधिमा तीन जना नेपाली नागरिक नेपाल प्रवेश गरेका थिए। विभागका प्रवक्ता लम्सालका अनुसार बुधबार बिहान ८ः३५ बजेसम्म नेपालबाट चीनतर्फ जाने तथा चीनबाट नेपाल प्रवेश गर्ने यात्रुको जाँचपास पूरा भइसकेको थियो।
उनका अनुसार त्यस अवधिमा नेपालबाट ३२ जना नेपाली, १२ जना चिनियाँ, नौ जना अमेरिकी र ३३ जना भारतीय नागरिक चीनतर्फको सीमाक्षेत्रमा प्रवेश गरेका थिए। त्यस्तै क्यानडा, इटाली र अस्ट्रेलियाका एक–एक जना पर्यटक पनि नेपाल–चीन सीमाक्षेत्रको ग्यिरोङ बन्दरगाह क्षेत्रतर्फ गएको अध्यागमन विवरणमा देखिएको छ। यही विवरणका आधारमा आफन्तहरूले आफ्ना परिवारका सदस्य घटनास्थलमा पुगेका थिए वा त्यसअघि नै सुरक्षित रूपमा चीनतर्फ प्रवेश गरेका थिए भन्ने यकिन गर्न प्रयास गरिरहेका छन्।
शव पहिचानमा कठिनाइ
बाढीपछि ठूलो संख्यामा शव फेला परेकाले पहिचान प्रक्रिया पनि चुनौतीपूर्ण बनेको नेपाल प्रहरीले जनाएको छ।
विदेशी नागरिकको खोजी तथा उद्धारमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङका अनुसार लामो समयसम्म पानी र हिलोमा रहेका शवको अवस्था बिग्रिएकाले पहिचान गर्न कठिन भइरहेको छ।
उनका अनुसार केही शव विदेशी नागरिकको हुन सक्ने देखिए पनि निश्चित पहिचानका लागि थप प्रक्रिया अपनाउनुपर्ने अवस्था छ। शवको पहिचानका लागि आफन्तबाट प्राप्त विवरण, तस्बिर तथा अन्य प्रमाणसँग मिलान गर्ने काम भइरहेको छ।
थप पाँच विदेशी पर्यटकको उद्धार
यसैबीच, बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला आइतबार थप पाँच जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये तीन जना स्पेनका, एक जना अमेरिकाका र एक जना बेल्जियमका पर्यटक रहेका छन्। बोर्डका अनुसार आइतबारसम्म बाढी प्रभावित क्षेत्रबाट २८९ जना पर्यटकको उद्धार भइसकेको छ भने ५९१ जना अझै सम्पर्कविहीन रहेको विवरण छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विदेशी नागरिकको खोजीका लागि सम्बन्धित देशका कूटनीतिक नियोग, अध्यागमन विभाग, सुरक्षा निकाय, पर्यटन बोर्ड तथा ट्रेकिङ र पर्यटन व्यवसायीबीच समन्वय भइरहेको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले बेपत्ता व्यक्तिको अवस्था यकिन गर्न चुनौती भइरहेको छ। उद्धार कार्यसँगै घटनास्थलमा फेला परेका शवको पहिचान र सुरक्षित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।