नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नुवाकोटका बाढी प्रभावित परिवारका लागि करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। संघले बिहीबार र शुक्रबार गरी प्रभावित क्षेत्रमा पुगेर अत्यावश्यक सामग्री वितरण तथा हस्तान्तरण गरेको हो।

एनआरएनएले उपलब्ध गराएको राहत सामग्रीमा ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट तथा ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी र औषधिलगायतका सामग्री छन्।

बाढीबाट घर तथा दैनिक जीवनयापनमा क्षति पुगेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर राहत प्याकेज तयार गरिएको एनआरएनएले जनाएको छ।

राहत सामग्रीसहित एनआरएनएका पदाधिकारी तथा प्रतिनिधिको टोली बिहीबार बिहान काठमाडौंस्थित सचिवालयबाट नुवाकोट पुगेको थियो। टोलीले जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा स्थानीय तहका प्रतिनिधिसँग समन्वय गर्दै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो।

स्थलगत अवलोकनका क्रममा प्रभावित परिवारको अवस्था, तत्काल आवश्यक पर्ने सामग्री तथा आश्रयस्थलमा रहेका नागरिकको अवस्थाबारे जानकारी लिइएको थियो।

टोलीले नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय, विदुर–५ मा आश्रय लिइरहेका बाढी प्रभावित नागरिक, विशेषगरी वृद्धवृद्धालाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरेको छ।

त्यस्तै, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित परिवारलाई समेत राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको एनआरएनएले जनाएको छ।

सरकारको एकद्वार राहत वितरण नीतिअनुसार एनआरएनएले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत राहत सामग्री हस्तान्तरण गरेको छ।

बाढी तथा पहिरोका कारण नुवाकोटसहित भोटेकोशी–त्रिशूली करिडोरका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि प्रभावित परिवारलाई तत्काल खाद्यान्न, आवास, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तुको आवश्यकता बढेको छ।

एनआरएनएले विपद्को समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर सहयोगलाई व्यवस्थित बनाउने उद्देश्यले राहत अभियान सञ्चालन गरेको जनाएको छ।