काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले उद्धार तथा राहत कार्यका लागि आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संस्थालाई अपिल गरेको छ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न बैंक खाता तथा डिजिटल भुक्तानीका माध्यम सार्वजनिक गरेको छ।

आठ बैंकका खाताबाट सहयोग गर्न सकिने

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र हिमालयन बैंकका खातामा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा दुईवटा छुट्टै खाता सञ्चालनमा ल्याइएको छ।

सरकारका अनुसार नेपालभित्रबाट दुवै कोषमा क्यूआर कोडमार्फत प्रत्यक्ष रकम पठाउन सकिनेछ। बैंक खातामा अनलाइन बैंकिङमार्फत वा सम्बन्धित बैंकमा पुगेरसमेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

विदेशबाट पाँच माध्यमबाट सहयोग

विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले पनि विभिन्न डिजिटल तथा बैंकिङ माध्यमबाट कोषमा रकम पठाउन सक्नेछन्।

पहिलो, कार्ड पेमेन्ट गेटवेमार्फत सहयोग गर्न सकिनेछ। यसका लागि pmrdf.nchl.com.np तथा pmrreliefund.himalayanbank.com मार्फत वा उपलब्ध क्यूआर कोड प्रयोग गरी रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

दोस्रो, डिजिटल वालेट तथा क्यूआर प्रणालीमार्फत रकम पठाउन सकिनेछ। अलिपे+ सँग अन्तरसञ्चालन भएका १२ वटा वालेट तथा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)मा जोडिएका फोनपे, नेपालपे र स्मार्ट क्यूआरबाट समेत सहयोग गर्न सकिनेछ।

तेस्रो, भारतबाट यूपीआईमार्फत सहयोग गर्न सकिनेछ। भारतमा रहेका यूपीआई प्रयोगकर्ताले यूपीआई–सक्षम भारतीय बैंकका एपमा उपलब्ध क्रस–बोर्डर ‘पीटुपी फन्ड ट्रान्सफर’ सुविधा प्रयोग गरी कोषका खातामा रकम पठाउन सक्नेछन्।

चौथो, स्विफ्टमार्फत बैंक ट्रान्सफर गर्न सकिनेछ। विदेशमा रहेका व्यक्तिले आफ्नो बैंक वा इन्टरनेट बैंकिङ प्रणालीमा उपलब्ध अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सुविधा प्रयोग गरी स्विफ्टमार्फत प्रधानमन्त्री राहत कोषमा रकम पठाउन सक्नेछन्।

पाँचौँ, रेमिट्यान्स च्यानल प्रयोग गर्न सकिनेछ। जीएमई, रेमिट्ली, वाइज, ट्यापट्याप सेन्डलगायतका डिजिटल रेमिट्यान्स सेवा तथा घरेलु रेमिट्यान्स कम्पनीका साझेदारमार्फत पनि सहयोग रकम पठाउन सकिने सरकारले जनाएको छ।

news-6a9161607e67e-images_skJV2NKrns_y83tbr0.webp

कोषमा २ अर्बभन्दा बढी मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल २ अर्ब ५ करोड रुपैयाँ मौज्दात रहेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनका लागि ठूलो स्रोत आवश्यक पर्ने भएकाले सरकारले थप सहयोग जुटाउन अपिल गरेको हो।

सरकारले स्वदेश तथा विदेशमा रहेका नेपाली, निजी क्षेत्र, संघसंस्था तथा इच्छुक सहयोगदातालाई आफ्नो क्षमताअनुसार उद्धार तथा राहत अभियानमा योगदान गर्न आग्रह गरेको छ।