काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न देशका पर्यटकहरूसँग सम्पर्क हुन नसकेको हो।

बोर्डका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना छन्। त्यस्तै नेपाली पर्यटक १२७ जना रहेका छन्।

यसैगरी अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक पनि सम्पर्कविहीन छन् । यसैगरी न्युजिल्याण्डका पाँच नागरिक पनि बेपत्ता भएको समाचार सार्वजनीक भएको छ ।

पर्यटन बोर्डले विभिन्न ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीन पर्यटकको तथ्यांक संकलन गरिएको जनाएको छ। बाढीका कारण सञ्चार सम्पर्क तथा आवतजावतमा समस्या रहेकाले तथ्यांक थप अद्यावधिक हुन सक्ने बोर्डको भनाइ छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयको खोजी र उद्धारलाई प्राथमिकता दिइएको छ। सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन सम्बन्धित निकाय र स्थानीय तहबाट समेत खोजी तथा समन्वय भइरहेको छ।

पर्यटन बोर्डले ट्राभल एजेन्सी, होटल तथा पर्यटन व्यवसायीसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।