अकल्यान्ड । नेपालका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि न्युजिल्यान्डबाट कसरी प्रभावकारी रूपमा सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा न्युजिल्यान्डमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरूबीच आज साँझ सामूहिक छलफल हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले यसअघि नै बाढीपीडितका लागि आपत्कालीन राहत कोष स्थापना गरी सहयोग संकलन अभियान सुरु गरिसकेको छ। अब राहत संकलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन न्युजिल्यान्डमा सक्रिय विभिन्न नेपाली संघसंस्थालाई समेत अभियानमा जोड्ने उद्देश्यले छलफल आयोजना गर्न लागिएको एनआरएनए न्युजिल्यान्डका अध्यक्ष अच्युत अर्यालले जानकारी दिए।
अर्यालका अनुसार छलफलमा न्युजिल्यान्डमा रहेका विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधिहरूलाई सहभागी गराई विपत्तिमा परेका परिवारसम्म तत्काल र प्रभावकारी रूपमा सहयोग पुर्याउने विषयमा साझा रणनीति बनाउने प्रयास गरिनेछ।
“लामो छलफलपछि विपत्तिमा परेका परिवारसम्म राहत पुर्याउने र उनीहरूसँगै रहने उद्देश्यले अभियान अघि बढाएका छौँ। न्युजिल्यान्डमा रहेका विभिन्न नेपाली संस्थाहरूसँग छलफल भइरहेको छ। सबैसँग समन्वय गरेर सामूहिक रूपमा राहत संकलन गर्ने हाम्रो प्रयास हो,” अर्यालले भने।
न्युजिल्यान्डमा एनआरएनएबाहेक न्युजिल्यान्ड नेपाल सोसाइटी (NZNS), न्युजिल्यान्ड नेपाल एसोसिएसन (NZNA), नेपाल–न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी (NNZFSC), क्यान्टरबरी नेपाली सोसाइटी, नेपालिज सोसाइटी अफ वेलिङ्टन लगायत विभिन्न क्षेत्रीय तथा सामुदायिक संस्थाहरू सक्रिय छन्।
एनआरएनए न्युजिल्यान्डले विभिन्न नेपाली समुदाय तथा क्षेत्रीय संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। एनआरएनए न्युजिल्यान्डका अनुसार देशका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदाय र संस्थाहरूसँग समन्वय गरी सामुदायिक हितका अभियान अघि बढाउने गरिएको छ।
रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको खबरपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा सहयोगका लागि पहल बढेको छ। राहत अभियानमा एउटै संस्थाको प्रयासभन्दा विभिन्न संस्था, समुदाय र व्यक्तिको सामूहिक सहभागिताले प्रभावित परिवारसम्म थप प्रभावकारी सहयोग पुर्याउन सकिने अपेक्षा गरिएको छ।
अध्यक्ष अर्यालले राहत अभियानमा नेपाली समुदायसँगै न्युजिल्यान्डका अन्य समुदाय, किवी नागरिक, परिवार, साथीभाइ तथा छिमेकीलाई समेत सहभागी हुन आग्रह गरेका छन्।