अकल्यान्ड । नेपालमा रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि न्युजिल्यान्डमा रहेका नेपाली संघसंस्थाले दुःख व्यक्त गर्दै राहत, उद्धार र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन थालेका छन्।

न्युजिल्यान्ड नेपाल सोसाइटी (NZNS) ले भोटेकोशी नदीमा बुधबार बिहान, २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीबाट भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। सोसाइटीका अनुसार बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका नदी तथा तटीय क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ।

सोसाइटीले जारी गरेको शोक तथा प्रेस वक्तव्यमा बाढीका कारण ठूलो विनाश हुनुका साथै १६० भन्दा बढी मानिसको ज्यान गएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

विपत्तिबाट प्रभावित नेपाली समुदाय तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै NZNS ले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। प्रभावित क्षेत्रमा हाल सम्पर्कविहीन रहेका पाँच जना न्युजिल्यान्डका नागरिकको अवस्थाप्रति पनि सोसाइटीले चिन्ता व्यक्त गर्दै उनीहरूको सुरक्षित उद्धारको कामना गरेको छ।

नेपालमा भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्न NZNS ले अकल्यान्डमा दिप प्रज्वलन (क्यान्डललाइट) आयोजना गर्ने भएको छ। आगामी २९ अगस्ट २०२६, शनिबार साँझ ४ बजे अकल्यान्डको Aotea Square, Auckland CBD मा कार्यक्रम आयोजना गरिने सोसाइटीले जनाएको छ।

कार्यक्रममा सहभागी हुन सबैलाई एकता र सहानुभूतिका साथ उपस्थित हुन आग्रह गरिएको छ। सहभागीहरूले मैनबत्ती लिएर विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउनेछन्।

सोसाइटीले नेपालमा भएको विपत्तिको यस कठिन समयमा नेपाली समुदाय मात्र नभई Aotearoa New Zealand मा रहेका सबैलाई एकताबद्ध भएर नेपालका लागि उभिन आह्वान गरेको छ।

यसैबीच, नेपालमा भएको विनाशकारी बाढी र ठूलो मानवीय क्षतिको पृष्ठभूमिमा न्युजिल्यान्डमा आयोजना हुने तीज महोत्सव २०२६ रद्द गरिएको आयोजकहरूले जनाएका छन्।

आयोजकले जारी गरेको सूचनामा नेपालमा भएको विपत्ति र ठूलो संख्यामा भएको मानवीय क्षतिका कारण यस वर्ष तीज महोत्सव मनाउने अवस्था नरहेको उल्लेख गरिएको छ।

“यस कठिन समयमा उत्सव मनाउनु उचित महसुस भएको छैन,” आयोजकले जनाएको छ। विपत्तिमा ज्यान गुमाएका परिवार, आफ्ना प्रियजन गुमाएका तथा अझै आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रभावित सबैको सुरक्षा र शीघ्र पुनःस्थापनाको कामना गरिएको छ।

आयोजकहरूले दुःखको यस घडीमा सम्पूर्ण नेपाली समुदाय नेपालसँगै उभिएको सन्देश दिँदै मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

नेपालमा आएको विपत्तिपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा राहत, उद्धारमा सहयोग तथा पीडित परिवारप्रति ऐक्यबद्धताका गतिविधि बढ्दै गएका छन्। विभिन्न संघसंस्थाले उत्सवभन्दा मानवीय सहयोग र विपत्तिमा परेका परिवारको साथमा उभिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।