अकल्यान्ड । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढी र पहिरोमा परी कम्तीमा २८९ जनाको शव फेला परेको छ । दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।
त्यसैगरी करिब १ हजार ५०० जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन हुनेमा सयौँ विदेशी पर्यटकसमेत रहेका छन्। तीमध्ये न्युजिल्यान्डका पाँच नागरिक पनि सम्पर्कविहीन रहेका छन्।
न्युजिल्यान्डको विदेश मन्त्रालय तथा व्यापार मन्त्रालयका अनुसार सम्पर्कविहीन पाँच जनामध्ये चार जनाको पहिचान भएको छ भने एक जनाको पहिचान हुन बाँकी रहेको छ। सम्पर्कविहीन हुनेमा अस्ट्रेलियामा बस्दै आएकी सुहासिनी रेड्डी, अकल्यान्डका देजान कुज्मिच तथा ह्यामिल्टनमा बस्दै आएका दम्पती मिहिर पटेल र किन्नारी पटेल रहेका छन्। पाँचौँ न्युजिल्यान्डवासीको पहिचान भने सार्वजनिक गरिएको छैन।
न्युजिल्यान्डको विदेश मन्त्रालय तथा व्यापार मन्त्रालयले पाँच जना न्युजिल्यान्डवासी सम्पर्कविहीन रहेको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
कन्सुलर अधिकारीहरू नेपालतर्फ परिचालन भइरहेका छन्। उनीहरूले भारतस्थित न्युजिल्यान्ड उच्चायोग र नेपालमा रहेका मानार्थ वाणिज्यदूतसँग समन्वय गरी खोजी तथा उद्धार प्रयासमा सहयोग गर्नेछन्।
मन्त्रालयले नेपाल र चीनमा भएको विपत्तिको वास्तविक क्षतिको परिमाण अझै स्पष्ट हुँदै गएको र मानवीय क्षति अत्यन्त ठूलो हुन सक्ने जनाएको छ।