काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बुधबार आएको बाढीपछि रसुवादेखि चितवनसम्म विभिन्न जिल्लामा शव फेला परेका हुन्। सबैभन्दा धेरै शव चितवनमा २२ वटा भेटिएका छन्। जिल्लागत विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र चितवनमा २२१ शव फेला परेका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना रहेका छन्। त्यसैगरी रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। नदीको बहाव, क्षतिग्रस्त सडक तथा पुल र दुर्गम भूगोलका कारण बेपत्ता भएकाको खोजी तथा शव पहिचानमा चुनौती देखिएको छ।

प्रहरी र विपद् व्यवस्थापन निकायले मृतक तथा सम्पर्कविहीनको विवरण संकलन र अद्यावधिक गर्ने कार्य जारी राखेका छन्। पछिल्लो विवरणसँगै मृतक तथा सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ।