चीन । चीनको विदेश मन्त्रालयले नेपालको उच्च हिमाली क्षेत्रमा रहेको एउटा हिमनदी भत्किएपछि हालको बाढी तथा विपत्ति उत्पन्न भएको प्रारम्भिक मूल्याङ्कन सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको केरुङ क्षेत्र तथा नेपालमा आएको बाढीबारे पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

प्रवक्ता लिनका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनअनुसार नेपालको उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि बाढीको अवस्था सिर्जना भएको हो। “चीन र नेपालका विज्ञ तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,” लिनले भने।

उनले विपत्तिपछि उद्धार तथा राहतका लागि चिनियाँ पक्षले गरिरहेको समन्वय र सहयोगबारे पनि जानकारी दिएका थिए। बाढी तथा त्यसबाट सिर्जित अवस्थाका सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए।

हिमनदी पग्लिएर ताल बन्न थालेको चिनियाँ सञ्चारमाध्यमको दाबी

यसैबीच, चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी पग्लिएर पानी जम्मा भई ताल बन्न थालेको दाबी गरेको छ। सीजीटीएनले केही समयअघि सार्वजनिक गरेको ड्रोन तस्बिरमा उच्च हिमाली क्षेत्रमा हिमनदी आसपास पानी जम्मा भइरहेको दृश्य देखाइएको बताइएको छ।

नेपालतर्फ भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विपत्तिको वास्तविक कारणबारे विभिन्न कोणबाट अध्ययन भइरहेको छ। चीनको प्रारम्भिक मूल्याङ्कनले भने उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनुलाई बाढीको मुख्य कारणका रूपमा औँल्याएको छ। यद्यपि, विपत्तिको पूर्ण कारण, हिमनदी भत्किनुको अवस्था तथा त्यसबाट बाढीको बहाव कसरी विकसित भयो भन्ने विषयमा थप प्राविधिक अध्ययन आवश्यक देखिन्छ।

यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमताल विस्फोट तथा बाढीको जोखिमबारे पुनः गम्भीर बहस सिर्जना गरेको छ।