काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको घाउ सेलाउन नपाउँदै नेपाल–चीन सीमा क्षेत्रमा अर्को सम्भावित विपत्तिको जोखिम देखिएको छ। लाङटाङ लिरुङको उत्तरी भेगमा भएको विशाल हिमपहिरोपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा प्राकृतिक बाँध बनेर पानी जम्मा हुन थालेपछि त्यसले फेरि अचानक बाढी निम्त्याउन सक्ने जोखिम बढेको हो।
नेपाल र चीनतर्फका विज्ञ तथा सम्बन्धित निकायले उपग्रह तस्बिर र स्थलगत सूचनाको विश्लेषण गर्दै नयाँ बनेको तालको अवस्था निगरानी गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार बिहीबारसम्म उक्त प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र माथिबाट थप पानी आएर यसको मात्रा करिब ३० लाख घनमिटर पुग्न सक्ने चिनियाँ पक्षले जानकारी दिएको छ।
यो ताल प्राकृतिक रूपमा बनेको कमजोर बाँधले थामिएको अवस्थामा रहेकाले पानीको दबाब बढ्दै गएमा बाँध भत्किन सक्ने र त्यसबाट ल्हेन्दे हुँदै भोटेकोशीमा अर्को ठूलो बाढीको लहर आउन सक्ने जोखिम छ। तर, अहिलेको ताल फुटेमा बुधबारको जत्तिकै विनाशकारी बाढी नै आउँछ भन्ने निष्कर्षमा भने पुग्न नसकिने विज्ञहरूको भनाइ छ।
हिमनदीको भाग खस्दा बनेको प्राकृतिक बाँध
प्रारम्भिक वैज्ञानिक विश्लेषणअनुसार बुधबार बिहान लाङटाङ लिरुङ क्षेत्रको उच्च भागबाट बरफ, हिउँ र चट्टानसहितको विशाल भूभाग खसेर ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएको थियो। त्यसपछि नदीको पानी अस्थायी रूपमा थुनिएर प्राकृतिक ताल बनेको र केही समयपछि उक्त अवरोध फुट्दा ठूलो परिमाणमा पानी, हिलो, बरफ र चट्टानसहितको बहाव नेपालतर्फ आएको हुन सक्ने देखिएको छ।
उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणले ल्हेन्दे खोलाको करिब २० किलोमिटर माथिल्लो क्षेत्रमा नदी थुनिएको देखाएको छ। त्यहाँ बनेको अस्थायी ताल फुटेपछि आएको बहाव भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिएको प्रारम्भिक प्राविधिक मूल्याङ्कन छ।
चीनमा रहेका नेपाली विपत् विज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा खसेपछि बनेका खाल्डामा पानी जम्मा भएको देखिएको छ।
उनले भने, “माथिबाट हिउँको ढिक्कासहितको पहिरो बजारिँदा नदी छेउमै बनेका खाल्टाखुल्टीमा पानी जमेको देखिएको छ। वरिपरि बुधबारको बाढीले कच्चा ड्याम सिर्जना गरेको छ। पानी भरिएको खण्डमा त्यो फुटेर बाढी आउने जोखिम कायमै छ।”
अधिकारीका अनुसार अहिलेको मुख्य चिन्ता बुधबारको घटनाको कारण खोज्नु मात्र नभई त्यही क्षेत्रमा बनेको नयाँ प्राकृतिक बाँधको स्थायित्व र त्यसपछिको पानीको बहावलाई निरन्तर निगरानी गर्नु हो।
२० लाख घनमिटर पानी, थप ३० लाख घनमिटरको सम्भावना
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोत विज्ञ राजेन्द्र शर्माले पनि हिमस्खलनपछि बनेको पोखरीमा पानी जम्मा भइरहेको पुष्टि गरेका छन्।
उनका अनुसार नेपाल र चीनका सम्बन्धित निकायबीच यस विषयमा छलफल भइरहेको छ। चिनियाँ पक्षबाट प्राप्त विवरण उद्धृत गर्दै शर्माले भने, “चट्टानसहित हिउँको ढिक्का खसेको स्थानमा बिहीबार दिउँसोसम्ममा २० लाख घनमिटर पानी जम्मा भइसकेको अवस्था छ। माथिबाट थप ३० लाख घनमिटर पानी खसेर जम्मा हुने सम्भावना उच्च छ।”
यदि पानीको मात्रा बढ्दै गएर प्राकृतिक बाँधमाथि दबाब बढ्यो भने ताल फुट्ने सम्भावना रहन्छ। त्यसैले नेपाल र चीन दुवैतर्फ नदी किनारमा रहेका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनालाई जोखिमको दायरामा राखेर निगरानी गर्नुपर्ने अवस्था आएको छ।
तर, वैज्ञानिकहरूले अहिलेको जोखिमलाई बुधबार आएको बाढीसँग ठ्याक्कै समान मान्न नहुने पनि बताएका छन्। नयाँ तालको आकार, बाँधको उचाइ र संरचना, पानी भरिने गति तथा बाँध फुट्ने तरिका जस्ता विषयले सम्भावित बाढीको आकार निर्धारण गर्ने भएकाले निरन्तर भू–उपग्रह र स्थलगत निगरानी आवश्यक देखिएको छ।
बुधबारको बाढी कसरी आयो?
बुधबार बिहान करिब ९ बजेपछि भोटेकोशीमा अचानक असामान्य रूपमा ठूलो बहाव आएको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारीले करिब ९ः१५ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको बताएका थिए। त्यसपछि नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको थियो।
प्रारम्भिक प्राविधिक अध्ययनअनुसार बाढी ल्हेन्दे–भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म पुगेको थियो। बाढीले नदी प्रणालीमा रहेका स्वचालित जलमापन केन्द्रसमेत बगाएको र देवघाट क्षेत्रमा मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानीको बहाव पुगेको प्रारम्भिक मूल्याङ्कन गरिएको छ।
यस घटनाको कारणबारे सुरुमा विभिन्न अनुमान गरिए पनि उपग्रह तस्बिरको विश्लेषणपछि वैज्ञानिकहरूले हिम, चट्टान र बरफको ठूलो भाग खसेर नदी थुनिएको र त्यसपछि अस्थायी बाँध फुटेको सम्भावनालाई प्रमुख कारणका रूपमा हेरेका छन्। बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्पसमेत रेकर्ड भएको थियो। तर, उक्त भूकम्पले हिमस्खलन गराएको हो वा घटनासँग प्रत्यक्ष सम्बन्ध थियो भन्ने अझै निश्चित भइसकेको छैन।
जोखिम रसुवामा मात्र सीमित छैन
भोटेकोशीमा आएको बाढीको प्रभाव रसुवाबाट तल नुवाकोट, धादिङ हुँदै गोरखा र चितवनसम्मको नदी प्रणालीमा परेको छ। त्यसैले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा बनेको नयाँ ताल फुटेमा त्यसको प्रभाव पनि नदीको बहावअनुसार तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने जोखिम छ।
नेपाल रेडक्रस सोसाइटीले समेत ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा बरफको हिमस्खलनले नदी अवरुद्ध गरेको र त्यसबाट अचानक बहाव आएको हुन सक्ने प्रारम्भिक आकलन सार्वजनिक गरेको छ। उसले भोटेकोशी र त्यसपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहनुपर्ने जनाएको छ।
नेपालको विपत् व्यवस्थापन निकायले यसअघि नै भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ। विशेषगरी नदी किनार, तल्लो भूभाग र बाढीले क्षति पुर्याएका क्षेत्रमा मानिसहरू नबस्न तथा सुरक्षित अग्लो स्थानमा जान आग्रह गरिएको छ।
जलवायु परिवर्तनले बढाउँदैछ हिमाली जोखिम?
लाङटाङ लिरुङ क्षेत्रमा भएको पछिल्लो घटनाले हिमाली क्षेत्रमा बरफ, चट्टान र पर्माफ्रोस्टको स्थायित्वबारे पनि गम्भीर प्रश्न उठाएको छ। वैज्ञानिकहरूले हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदा जमेको बरफ र माटो कमजोर बन्ने तथा चट्टान अस्थिर हुने जोखिम बढ्न सक्ने बताएका छन्।
तर, पछिल्लो बाढीलाई जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भनेर निष्कर्ष निकाल्न अझै पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ। हालसम्मको विश्लेषणले हिमनदी तथा चट्टानको अस्थिरता, उच्च हिमाली क्षेत्रमा भइरहेको परिवर्तन र मौसमी अवस्थालाई घटनाको सम्भावित पृष्ठभूमिका रूपमा हेरेको छ।
प्रकृति जर्नलको रिपोर्टले पनि हिमाली क्षेत्रमा दुई सयभन्दा बढी उच्च जोखिमयुक्त हिमताल रहेको र यस्ता हिमताल तथा बरफ–चट्टानसँग सम्बन्धित घटनाको जोखिमलाई दीर्घकालीन रूपमा गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेको छ।
अबको चुनौती : बाढी आउनुअघि सूचना पुर्याउने
बुधबारको घटनाले नेपालको विपत् पूर्वसूचना प्रणालीको अर्को ठूलो परीक्षा लिएको छ। पहाडी नदीको माथिल्लो भागमा अचानक प्राकृतिक बाँध बन्ने र केही घण्टामै फुट्ने अवस्थामा तल्लो क्षेत्रमा रहेका मानिसलाई समयमै सूचना पुर्याउन सक्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष हुन्छ।
यसका लागि नेपाल र चीनबीच उपग्रह तस्बिर, जलस्तर, मौसम, हिमनदीको अवस्था र सम्भावित प्राकृतिक बाँधको सूचना तत्काल आदानप्रदान गर्ने स्थायी संयन्त्र आवश्यक देखिएको छ।
विशेषगरी सीमा क्षेत्रमा बनेको तालको पानी कति गतिमा बढिरहेको छ, प्राकृतिक बाँध कति बलियो छ, पानी कुन दिशाबाट बाहिरिन सक्छ र बाँध फुटेमा कति समयभित्र नेपालतर्फका बस्तीमा प्रभाव पर्न सक्छ भन्ने तथ्य तत्काल सार्वजनिक गर्नुपर्ने आवश्यकता छ।
बुधबारको विपत्तिले एउटा कठोर पाठ सिकाइसकेको छ—हिमालको माथिल्लो भागमा देखिएको असामान्य परिवर्तन केही घण्टामै सयौँ किलोमिटर तलका बस्तीका लागि जीवन–मरणको जोखिम बन्न सक्छ। अहिले लाङटाङ लिरुङको फेदमा जम्मा भइरहेको पानी केवल एउटा हिमाली पोखरी होइन, त्यसको निगरानी, सूचना र पूर्वतयारीमा हुने ढिलाइ अर्को मानवीय विपत्तिको कारण बन्न सक्छ।
त्यसैले अहिलेको प्राथमिकता नयाँ ताल फुट्छ कि फुट्दैन भन्ने अनुमानमा मात्र सीमित नभई जोखिम भएको अवस्थामा नदी किनारका मानिसलाई कति छिटो सुरक्षित स्थानमा सार्न सकिन्छ भन्ने तयारी हुनुपर्ने देखिन्छ। नेपाल र चीन दुवैतर्फका विज्ञ तथा विपत् निकायबीच जारी छलफलको सबैभन्दा महत्वपूर्ण परिणाम यही पूर्वतयारी बन्नुपर्नेछ।