वेलिङ्टन । राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्न थप कर तिर्न न्युजिल्याण्डका करिब दुईतिहाइ नागरिक तयार रहेको एक नयाँ सर्वेक्षणले देखाएको छ। विशेषगरी क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान, उपचार र हेरचाहका लागि सरकारी लगानी बढाउनुपर्नेमा नागरिकहरूको बलियो समर्थन रहेको पाइएको हो।
१ हजार ६ सय जनामाथि गरिएको सर्वेक्षणमा ६२ प्रतिशत अर्थात् १ हजार ३४ जनाले स्वास्थ्य सेवाका लागि थप कर तिर्न आफूहरू तयार रहेको बताएका छन्। २९ प्रतिशत अर्थात् ४५८ जना भने थप करको विपक्षमा देखिएका छन् भने बाँकीले आफ्नो धारणा स्पष्ट गर्न सकेनन्।
क्यान्सर सोसाइटीको आर्थिक सहयोगमा गरिएको उक्त सर्वेक्षणलाई New Zealand Medical Journal मा नौवटा अनुसन्धानपत्रको शृंखलाका रूपमा प्रकाशित गरिएको छ। अध्ययन युनिभर्सिटी अफ ओटागोका क्यान्सर अनुसन्धानकर्ता र क्यान्सर सोसाइटीबीचको सहकार्यमा रहेको Te Rōpū Rangahau ō te Kāhui Matepukupuku ले गरेको हो।
अध्ययनको नेतृत्व गरेकी वेलिङ्टनस्थित ओटागो युनिभर्सिटीकी सार्वजनिक स्वास्थ्य प्राध्यापक लुइस सिग्नलले सर्वेक्षणका नतिजाले प्रमाणमा आधारित क्यान्सर नीतिका लागि जनताको स्पष्ट समर्थन देखाएको बताइन्। उनका अनुसार आवश्यक नीति र सुधारप्रति जनसमर्थन भए पनि राजनीतिक तहबाट आवश्यक कदम चाल्न भने ढिलाइ भइरहेको छ।
सिग्नलले प्रमुख राजनीतिक दलका समर्थकबीच पनि स्वास्थ्य तथा क्यान्सरसम्बन्धी विभिन्न नीतिमा उल्लेखनीय सहमति देखिएको बताइन्। उनका अनुसार धेरै नीतिलाई पुनः लागू गर्नुपर्ने पक्षमा गठबन्धन सरकारका दलका मतदातासहित विभिन्न दलका मतदाताको ठूलो समर्थन देखिएको छ।
सर्वेक्षणले क्यान्सर उपचारमा थप लगानी गर्नुपर्ने विषयमा पनि दलगत सीमाभन्दा माथि व्यापक समर्थन रहेको देखाएको छ। विशेषगरी वृद्ध उमेर समूहमा क्यान्सर सेवामा सरकारी लगानी बढाउनुपर्ने समर्थन अझ बलियो रहेको अध्ययनले जनाएको छ।
क्यान्सर सोसाइटीकी एड्भोकेसी तथा पब्लिक अफेयर्स प्रमुख राचेल न्युम्यानले नतिजाले क्यान्सरको प्रारम्भिक पहिचान, उपचार र हेरचाहमा सरकारले थप लगानी गर्नुपर्ने स्पष्ट जनादेश दिएको बताइन्।
क्यान्सरको प्रारम्भिक पहिचान, उपचार तथा हेरचाहसम्बन्धी नीतिलाई ९० प्रतिशतभन्दा बढी नागरिकले समर्थन गरेका छन्। आफूले कुन राजनीतिक दललाई मतदान गर्ने बताए पनि यस विषयमा समर्थनको स्तर उच्च रहेको अध्ययनमा उल्लेख छ।
न्युम्यानले न्युजिल्याण्डको बढ्दो वृद्ध जनसंख्या र स्वास्थ्य सेवामा विद्यमान असमानताका कारण आगामी दशकहरूमा समयमै र समान रूपमा क्यान्सर रोकथाम, पहिचान तथा उपचारको माग अझ बढ्दै जाने बताइन्।
अस्वस्थकर खाद्य पदार्थ र सुर्तीजन्य वस्तुमा कडा नियमनको पक्षमा व्यापक समर्थन
सर्वेक्षणले सुर्तीजन्य पदार्थसम्बन्धी सुधार पुनः लागू गर्ने, चिनीजन्य पेय पदार्थमा कर लगाउने, बालबालिकालाई मदिरा तथा जंक फुडको विज्ञापनबाट जोगाउने, मदिरासम्बन्धी कानुन कडा बनाउने र छालाको क्यान्सरबाट बच्न सूर्य सुरक्षासम्बन्धी अभियानलाई उल्लेख्य रूपमा बढाउने पक्षमा पनि व्यापक जनसमर्थन रहेको देखाएको छ।
यसैबीच, लेबर पार्टीले मंगलबार सरकारमा निर्वाचित भएमा ‘स्मोकफ्री जेनेरेसन’ नीति पुनः लागू गर्ने घोषणा गरेको छ। वर्तमान सरकारले २०२४ मा खारेज गरेको उक्त नीतिअन्तर्गत सन् २००९ जनवरी १ वा त्यसपछि जन्मिएका व्यक्तिले भविष्यमा सुर्तीजन्य पदार्थ खरिद गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको थियो। लेबरकी स्वास्थ्य प्रवक्ता आयेशा भेरलले नयाँ व्यवस्थामा उमेर वा कटअफ मिति परिवर्तन हुन सक्ने संकेत गरे पनि त्यसबारे विस्तृत जानकारी दिएकी छैनन्।
सर्वेक्षणले राजनीतिज्ञहरूले पद छाडेपछि तत्काल लबिङ व्यवसायमा प्रवेश गर्न नपाउने ‘स्ट्यान्ड–डाउन’ अवधि लागू गर्नुपर्ने पक्षमा पनि बलियो समर्थन देखाएको छ। विशेषगरी चिनीजन्य खाद्य पदार्थ र मदिरा उद्योगसँग सम्बन्धित नीतिनिर्माणमा लबिङलाई कडाइ गर्नुपर्ने माग उल्लेखनीय रहेको अध्ययनले जनाएको छ।
स्वस्थ खाद्य वातावरणसम्बन्धी नीति निर्माणमा उद्योगको कुनै पनि प्रत्यक्ष संलग्नता हुनु नहुने पक्षमा ७९ प्रतिशत अर्थात् १ हजार २६७ जना उत्तरदाता थिए। १७ प्रतिशत अर्थात् २९२ जना भने त्यसको विपक्षमा थिए।
प्राध्यापक सिग्नलका अनुसार सर्वेक्षणका सहभागीहरूले मदिरा र जंक फुड उद्योगलाई स्वस्थ खाद्य नीतिको निर्णय प्रक्रियाबाट बाहिर राख्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
समग्रमा, अध्ययनले क्यान्सर नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि नीतिगत सुधारमा न्युजिल्याण्डवासीको व्यापक समर्थन रहेको देखाएको छ। तर अनुसन्धानकर्ताहरूले जनमतलाई प्रभावकारी नीतिमा रूपान्तरण गर्न अब राजनीतिक इच्छाशक्ति र ठोस कार्यान्वयन आवश्यक रहेको बताएका छन्।