काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोपछि जारी खोज तथा उद्धार कार्यमा सरकारले तत्काल विदेशी उद्धार टोली नबोलाउने भएको छ। सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित उपलब्ध राष्ट्रिय सुरक्षा संयन्त्र र विज्ञ जनशक्तिलाई परिचालन गरेर खोज तथा उद्धारलाई तीव्रता दिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अहिलेको अवस्थामा नेपालसँग उपलब्ध सुरक्षा जनशक्ति, उपकरण र प्राविधिक क्षमताबाटै उद्धार कार्य सञ्चालन भइरहेको छ। अवस्था थप जटिल बनेर बाह्य सहयोग आवश्यक पर्ने अवस्था आएमा भने परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि सहजीकरण गरिने सरकारको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले विशेष खोज तथा उद्धारका लागि विभिन्न विशेषज्ञ टोली परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार विशेष खोज तथा उद्धार टोली, सामूहिक उद्धार एम्बुलेन्ससहितको मेडिकल टोली, होल्डिङ सेन्टर व्यवस्थापन गर्ने सीसीसीएम टोली, रोप रेस्क्यू, वाटर रेस्क्यू, गोताखोर, डग स्क्वाड र ड्रोन स्क्वाड परिचालन गरिएको छ।
त्यस्तै, भत्किएका तथा जोखिमयुक्त संरचनामा खोजी गर्न कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यू टिमसमेत परिचालन गरिएको छ। जीवित व्यक्ति पुरिएको हुनसक्ने स्थान पहिचान गर्न प्रयोग हुने लाइभ डिटेक्सन डिभाइस चारवटै प्रभावित क्षेत्रमा पठाइएको कार्कीले जानकारी दिए ।