काठमाडौं, भदौ २१: भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तबाट हालसम्म १ हजार १२ वटा डीएनए नमुना संकलन गरिएको छ। बाढीपछि फेला परेका १ हजार २ सय २६ भन्दा बढी पहिचान नखुलेका शव तथा मानव अवशेषको पहिचानका लागि ठूलो स्तरमा डीएनए परीक्षण तथा मिलान प्रक्रिया सुरु गरिएको हो।

भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि हालसम्म १ हजार ३ सय ३१ भन्दा बढी शव तथा मानव अवशेष फेला परिसकेका छन्। तीमध्ये केही शव सकुशल अवस्थामा भेटिए पनि करिब आधा शव तथा अवशेष आंशिक अवस्थामा फेला परेका छन्। कतिपय अवस्थामा शरीरका छुट्टाछुट्टै अंग मात्रै भेटिएका छन्।

डीएनए परीक्षणलाई तीव्र बनाउन भारत, दक्षिण कोरिया, सिंगापुर र चीनलगायतका देशबाट विशेषज्ञ, उपकरण तथा प्राविधिक सहयोग ल्याइएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेले जानकारी दिए।

“फेला परेका शरीरका अंगलाई छुट्टाछुट्टै मानव अवशेषका रूपमा लिएर डीएनए प्रोफाइलिङ गरिरहेका छौँ,” काफ्लेले भने, “सिंगो शव भेटिएको अवस्थामा दाँतको नमुना लिइन्छ। खुट्टा वा अन्य हड्डी मात्रै भेटिएमा करिब चारदेखि पाँच सेन्टिमिटर हड्डी लिएर फरेन्सिक चिकित्सकले सुरक्षित राख्छन्।”

शव तथा मानव अवशेषबाट लिइएका नमुना काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनए प्रोफाइलिङका लागि पठाइँदैछ। यस्तै, बेपत्ता व्यक्तिका विशेषगरी नजिकका आफन्तबाट रगतको नमुना संकलन गरी डीएनए मिलान गरिँदैछ।

बेपत्ता व्यक्तिका आफन्तले आफूलाई पायक पर्ने प्रहरी कार्यालय वा काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ।

डीआईजी काफ्लेका अनुसार शव तथा मानव अवशेषबाट प्राप्त डीएनए र आफन्तबाट संकलित रगतको डीएनए प्रोफाइलिङ छुट्टाछुट्टै गरिनेछ। त्यसपछि दुवै प्रोफाइललाई सफ्टवेयर प्रणालीमा राखेर वैज्ञानिक रूपमा मिलान गरिनेछ।

“मिलान प्रक्रिया पूरा भएपछि कुन मानव अवशेष कुन बेपत्ता व्यक्तिका आफन्तसँग मेल खान्छ भन्ने वैज्ञानिक रूपमा पत्ता लाग्छ,” काफ्लेले भने, “वैज्ञानिक परीक्षण, कानुनी प्रक्रिया र अन्तर्राष्ट्रिय अभ्यासअनुसार त्यसपछि सम्बन्धित परिवारलाई शव वा अवशेष हस्तान्तरण गरिनेछ।”

नेपालमा उपलब्ध जनशक्ति र प्राविधिक क्षमताले मात्रै यति ठूलो संख्यामा डीएनए परीक्षण छोटो समयमा सम्पन्न गर्न कठिन हुने भएकाले विदेशबाट थप विशेषज्ञ र उपकरण ल्याइएको उनले बताए।

“भारत, दक्षिण कोरिया, सिंगापुर र चीनलगायतका देशबाट विशेषज्ञसँगै आवश्यक उपकरण तथा अन्य स्रोतसाधन ल्याइएको छ। डीएनए प्रोफाइलिङ र परीक्षण निरन्तर भइरहेको छ,” काफ्लेले भने।

दक्षिण कोरियाबाट ल्याइएका मेसिनले परीक्षणको प्रकृति र क्षमताअनुसार दैनिक करिब ४० देखि १५० वटासम्म डीएनए नमुना परीक्षण गर्न सक्ने बताइएको छ।

काफ्लेले डीएनए परीक्षण सकेसम्म छिटो सम्पन्न गर्ने प्रयास भइरहेको बताए। “एक साताभित्र काम सम्पन्न गर्न सकियो भने अझ राम्रो हुन्छ। आफ्ना आफन्त बेपत्ता हुँदा परिवारले भोगिरहेको पीडा र पहिचान नखुलेका शवका कारण उत्पन्न मानसिक तनाव हामीले बुझेका छौँ,” उनले भने।

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाका एसपी रमेश्वर अधिकारीका अनुसार आफन्तबाट डीएनए नमुना संकलन गर्ने काम भदौ १५ गतेदेखि सुरु भएको हो।

“विदेशमा रहेका बेपत्ता व्यक्तिका आफन्तसमेत नेपाल आएर रगतको नमुना दिएका छन्,” अधिकारीले भने।

उनका अनुसार संकलित रगतका नमुना फरेन्सिक प्रयोगशालामा पठाइँदैछ। प्रयोगशालाको क्षमता हेरेर नमुना नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला तथा नेपाली सेनाको फरेन्सिक प्रयोगशालामा समेत पठाउने गरिएको छ।

“प्रयोगशालाले नमुना विश्लेषण गरेर फेला परेका शवसँग मिलान गर्छ। त्यसैले नतिजा आउन कति समय लाग्छ भन्ने कुरा प्राविधिक प्रक्रियामा निर्भर हुन्छ,” अधिकारीले भने।