काठमाडौं — नेपालमा शिक्षक संगठनको स्थापना, विकासक्रम तथा विभिन्न चरणमा भएका शिक्षक आन्दोलन र संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा लिखित पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको हो।
पुस्तकमा २००७ सालदेखि गठन हुन थालेका शिक्षक संगठनको विकासक्रम, २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलनदेखि हालसम्मका प्रमुख गतिविधि र संघर्षलाई अभिलेखका रूपमा प्रस्तुत गरिएको छ।
पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनको लामो इतिहास भए पनि त्यसलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार नेपालमा शिक्षक संगठन गठनको प्रक्रिया २००७ सालदेखि सुरु भए पनि २०३६ सालदेखि शिक्षक आन्दोलन संगठित रूपमा अघि बढेको थियो।
छरिएर रहेका विभिन्न दस्तावेज, घटना र आन्दोलनका विवरणलाई संकलन गरी अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको उहाँले बताउनुभयो।
सुवेदीका अनुसार पुस्तक तयार पार्ने क्रममा कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न शिक्षक संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरिएको छ। साथै शिक्षक आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उहाँले जानकारी दिनुभयो।
इतिहास लेख्दा व्यक्तिगत प्रतिष्ठाभन्दा तथ्य र आधिकारिकतालाई प्राथमिकता दिएको बताउँदै सुवेदीले पुस्तकमा प्रमाणित तथ्यलाई मात्र समेटिएको उल्लेख गर्नुभयो। छुटेका विषयहरू भविष्यमा आधिकारिक प्रमाणसहित प्राप्त भए दोस्रो वा तेस्रो संस्करणमा समावेश गरिने उहाँको भनाइ छ।
उहाँले शिक्षक आन्दोलनको इतिहासको संस्थागत अभिलेख नहुनु दुःखद भएको बताउँदै लामो समयदेखि छरिएर रहेका सामग्री खोजेर पुस्तक तयार पार्न निकै कठिन भएको अनुभव सुनाउनुभयो।
सरकार शिक्षकप्रति उदार नभएको आरोप
कार्यक्रममा पुस्तकको समीक्षा गर्दै पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई र डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकारको दृष्टिकोण अझै उदार हुन नसकेको टिप्पणी गर्नुभयो।
उहाँहरूले सरकारले शिक्षकहरूसँग गरेका विभिन्न सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्न पर्याप्त चासो नदिएको आरोप लगाउनुभयो। सरकारी व्यवहारकै कारण पछिल्लो समय शिक्षण पेसाप्रति युवाहरूको आकर्षण घट्दै गएको र शिक्षण पेसामा प्रवेश गर्न चाहनेको संख्या प्रभावित भइरहेको उहाँहरूको भनाइ थियो।
वक्ताहरूले शिक्षक आन्दोलनको इतिहासलाई दस्तावेजीकरण गर्नु केवल शिक्षक समुदायका लागि मात्र नभई नेपालको शैक्षिक तथा सामाजिक इतिहासका लागि समेत महत्वपूर्ण रहेको बताएका थिए।