अकल्याण्ड । न्युजिल्याण्डमा बसोबास गर्ने विभिन्न जातीय तथा सांस्कृतिक समुदायबीच आपसी समझदारी, सद्भाव र सांस्कृतिक आदानप्रदान बढाउने उद्देश्यले आयोजना गरिएको नवौँ मल्टिकल्चरल डान्स फेस्टिभल अकल्याण्डमा सम्पन्न भएको छ।

नेप्लिज कल्चरल सेन्टर न्युजिल्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा न्युजिल्याण्डमा बसोबास गर्दै आएका विभिन्न देश तथा समुदायका ४६ समूहले आ–आफ्नो मौलिक कला, नृत्य र संस्कृति झल्कने प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपाल, चीन, श्रीलंका, भियतनाम, रुस, भारतलगायत विभिन्न मुलुकका समुदायले आफ्ना परम्परागत नृत्य, भेषभूषा, संगीत र सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए। विभिन्न देशका कला र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिएकाले कार्यक्रम बहुसांस्कृतिक न्युजिल्याण्डको विविधताको आकर्षक प्रतिबिम्ब बनेको थियो।

news-6a9bfbbf8a394-dance_5.webp

कार्यक्रममा विभिन्न मुलुकका नागरिक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता थियो। न्युजिल्याण्डका सांसद, प्रहरी अधिकारी, स्थानीय समुदायका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक विविधतालाई नजिकबाट बुझ्ने अवसरका रूपमा लिएका थिए।

कार्यक्रममा सहभागी न्युजिल्याण्डका सांसद कार्लोस चुङले नेपालमा गएको बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै बेपत्ता भएकाहरूको छिट्टै खोजी होस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। नेपालको पीडामा आफू पनि पीडित भएको महसुस गर्दै न्युजिल्याण्ड नेपालका साथमा रहेको उनले बताए।

फरक–फरक पृष्ठभूमि, भाषा, धर्म र संस्कृतिका मानिसहरूले एउटै मञ्चमा आफ्नो पहिचान प्रस्तुत गर्दा आपसी सम्मान र समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। यस्ता कार्यक्रमले न्युजिल्याण्डमा रहेका विभिन्न समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै उनले भने, ‘न्युजिल्याण्डमा नेपालीहरूको उपस्थितिसँगै आफ्नो कला र संस्कृतिलाई विस्तार गर्न सफल भएकोमा म निकै खुसी छु।’

मल्टिकल्चरल डान्स फेस्टिभल नेपाल र नेपाली संस्कृतिलाई न्युजिल्याण्डको बहुसांस्कृतिक समाजमाझ चिनाउने महत्वपूर्ण माध्यम बनेको पनि उनले बताए।

news-6a9bfbba95bc4-dance_1.webp

कार्यक्रममा सहभागी नेपाली समुदायले आफ्ना मौलिक कला, संस्कृति र परम्परालाई अन्य समुदायसँग आदानप्रदान गर्ने अवसर प्राप्त गर्नुका साथै न्युजिल्याण्डका अन्य समुदायले नेपालको सांस्कृतिक विविधतालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए।

कार्यक्रममा सहभागी भियतनामका नागरिक अल्बर्टले भने, ‘हामी बाहिरबाट आएका मानिसहरूका लागि आफ्नो कला विस्तार गर्नुका साथै अन्य कला र संस्कृतिबारे जानकारी लिने राम्रो अवसर हो।’

कार्यक्रमका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सहयोगसमेत जुटाइएको थियो। सहभागी तथा अतिथिहरूले बाढीपीडितका लागि आर्थिक सहयोग गर्दै विपत्तिमा परेका नेपालीप्रति ऐक्यबद्धता जनाएका थिए।

नेप्लिज कल्चरल सेन्टर न्युजिल्याण्डले सन् २०१६ देखि प्रत्येक वर्ष मल्टिकल्चरल डान्स फेस्टिभल आयोजना गर्दै आएको छ। न्युजिल्याण्डमा रहेका विभिन्न जातीय समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पछिल्ला वर्षहरूमा बहुसांस्कृतिक समुदायबीचको महत्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ।

सेन्टरका अध्यक्ष कलमप्रसाद श्रेष्ठका अनुसार न्युजिल्याण्डमा रहेका किवी तथा अन्य समुदायलाई नेपालको कला, संस्कृति र सांस्कृतिक पहिचानबारे जानकारी गराउने तथा विभिन्न समुदायबीच आपसी सम्बन्ध र समझदारी विस्तार गर्ने उद्देश्यले सेन्टरले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो।

news-6a9bfbb98b6d9-dance_2.webp

उनका अनुसार सांस्कृतिक विविधता न्युजिल्याण्डको महत्वपूर्ण पहिचान भएकाले एकअर्काको संस्कृति बुझ्ने र सम्मान गर्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएका छन्। फरक देशबाट आएका समुदायले आफ्नो संस्कृति प्रस्तुत गर्दा नयाँ पुस्ताले समेत आफ्नो मौलिक पहिचानसँग जोडिन र अन्य समुदायको संस्कृति बुझ्न अवसर पाउने उनले बताए।

कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक नृत्य र प्रस्तुतिले सहभागी दर्शकलाई मनोरञ्जन मात्र प्रदान गरेनन्, फरक–फरक समुदायको इतिहास, परम्परा र जीवनशैलीबारे बुझ्ने अवसरसमेत प्रदान गरेको थियो।

news-6a9bfbbe8daeb-dance_4.webp