अकल्याण्ड। गीतकार तथा समाजसेवी डा. रमिल अधिकारी नेपाली संगीत क्षेत्रमा अर्को महत्वपूर्ण सम्मानबाट सम्मानित भएका छन्। अधिकारीको शब्द रहेको ‘वाचा गरौँ’ गीतले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको पुरस्कार जितेको हो।

गत बुधबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड समारोहमा अधिकारीलाई ‘वाचा गरौँ’ गीतका लागि उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको हो। गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने संगीत ज्ञानेन्द्र गिरीले दिएका छन्।

डा. अधिकारीका अनुसार सगरमाथा म्युजिक अवार्डसँगै राष्ट्रियस्तरमा प्राप्त उनका अवार्डको संख्या चार पुगेको छ। यसअघि उनले म्युजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्युजिक अवार्ड प्राप्त गरिसकेका छन्।

गीत लेखनमा निरन्तर सक्रिय अधिकारीका ‘बिन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’ र ‘जिउने चाहना’ लगायतका गीत यसअघि नै सार्वजनिक भइसकेका छन्। उनका गीतमा प्रेम, सम्बन्ध र जीवनका विविध भावनालाई प्रस्तुत गरिएको पाइन्छ।

हिमालपारीलाई प्रतिक्रिया दिँदै गीतकार डा. अधिकारीले भने, ‘दक्षिण अफ्रिकाको केप टाउन पुगेका बेला आफूले प्रतिष्ठित अवार्ड प्राप्त गरेको खबर पाएँ। केप टाउन पुगेकै दिन बिहान अवार्डसम्बन्धी खबर पाएपछि दिनको सुरुवात नै विशेष बन्यो।’

लगातार प्राप्त भइरहेको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि संगीतप्रतिको आफ्नो निरन्तर यात्राको प्रेरणाका रूपमा लिएको उनले बताए।

आफ्ना समर्थक, शुभेच्छुक तथा संगीतप्रेमीहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले भने, ‘मलाई यहाँहरूको माया, विश्वास र प्रोत्साहनले थप सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको छ।’

‘यो सम्मानले संगीत र गीत लेखनप्रतिको मेरो जुनूनलाई अझ बलियो बनाएको छ। यसले निरन्तर सिर्जना गर्ने, सिक्ने र आफ्नो उत्कृष्ट प्रयास गर्ने प्रेरणा दिएको छ,’ उनले भने।

विदेशमा रहेर पनि संगीत यात्रा निरन्तर

हाल न्युजिल्यान्डमा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका डा. अधिकारीले प्रवासमा रहेर पनि नेपाली संगीत तथा गीत लेखनलाई निरन्तरता दिइरहेका छन्। उनका सिर्जनाले नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन्।

यसअघि प्राप्त सम्मानसँगै सगरमाथा म्युजिक अवार्डले आफ्नो सिर्जनात्मक यात्रालाई थप ऊर्जा दिएको अधिकारीको भनाइ छ। उनले संगीतप्रेमी, सहकर्मी तथा शुभेच्छुकहरूको निरन्तर साथ र प्रोत्साहनप्रति आभार व्यक्त गरेका छन्।

गीत लेखनमा निरन्तर सक्रिय डा. अधिकारीका लागि पछिल्लो अवार्ड नेपाली संगीत क्षेत्रमा उनको सिर्जनात्मक पहिचानलाई थप स्थापित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ।