काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २२२ पुगेको छ। नेपाल प्रहरीले बुधबार राति ८ बजेसम्म विभिन्न स्थानबाट १ हजार २२२ जनाको शव तथा मानव अंग फेला परेको जनाएको छ।
फेला परेका शव तथा मानव अंगमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला र ४०६ पुरुषका शव रहेका छन्। यस्तै ४२१ वटा आंशिक मानव अंग फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ८२ जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म फेला परेका शवमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जनाइएको छ।
मृतकको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनलाई समेत तीव्रता दिएको छ। हालसम्म १ हजार ९२ जना मृतक र ५६३ जना मृतकका आफन्त गरी कुल १ हजार ६५५ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
४ हजार ८७५ अझै बेपत्ता
विनाशकारी बाढीमा परी अझै ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। बेपत्ता हुनेमा २ हजार ४४४ पुरुष र ४८० महिला रहेका छन्।
यस्तै, बेपत्ता हुनेमा ६०१ जना विदेशी नागरिकसमेत रहेको प्रहरीले जनाएको छ। फोनमार्फत टिपोट गरिएको बेपत्ताको संख्या भने १ हजार ३५० रहेको छ।
बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। शव फेला परेका स्थानबाट संकलन गरी पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा आफन्तसँग मिलान गर्ने काम पनि भइरहेको छ।
प्रहरीले संकलित तथ्यांकमा समयअनुसार थपघट हुन सक्ने जनाएको छ। विशेषगरी विभिन्न स्थानबाट प्राप्त हुने नयाँ सूचना, बेपत्ता व्यक्तिका आफन्तबाट आउने विवरण तथा फेला पर्ने शवको पहिचानपछि तथ्यांक अद्यावधिक हुने बताइएको छ।