काठमाडौं । नेपालमा भोटेकोशी–त्रिशूलीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा शव पहिचान अभियानमा नेपाललाई विदेशी उद्धार तथा फरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। भारत, चीन, सिंगापुर र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोली नेपाली सेना तथा नेपाल प्रहरीसँग समन्वय गरेर उद्धारदेखि मृतकको पहिचान र डीएनए परीक्षणसम्मका काममा जुटेका छन्।

विदेशी उद्धार टोलीले नेपाली सेनासँग मिलेर तालिमप्राप्त उद्धार कुकुर, उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण, लाइफ डिटेक्टर र थर्मल इमेजिङ प्रविधिलगायतका आधुनिक उपकरण प्रयोग गरिरहेका छन्।

बाढी तथा पहिरोका कारण कतिपय क्षेत्रमा हिलो र गेग्रानमा उद्धारकर्ता तथा सवारीसाधन फस्ने जोखिम रहेकाले कायकिङ बोटको प्रयोग गरेर समेत खोज तथा उद्धार भइरहेको छ।

उद्धारमा प्रयोग भइरहेका लाइफ डिटेक्टरदेखि ड्रोनसम्मका धेरै उपकरण नेपाली सेनासँग पनि रहेको सैनिक अधिकारीहरूले बताएका छन्। सेनाले आफ्नै उपकरणको प्रयोग गर्दै विदेशी टोलीसँग समन्वयमा खोज तथा उद्धार अघि बढाइरहेको छ। यद्यपि विदेशी टोलीले ल्याएका कतिपय उपकरण नेपाली सेनासँग रहेका उपकरणभन्दा उच्च क्षमताका हुन सक्ने छ।

सुरुङभित्रको उद्धार सबैभन्दा चुनौतीपूर्ण

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र ठूलो मात्रामा हिलो, माटो, ढुंगा तथा अन्य गेग्रान पसेपछि त्यहाँ फसेका तथा बेपत्ता व्यक्तिको खोजी र उद्धार अत्यन्त कठिन बनेको छ।

रसुवाको धुन्चेभन्दा उत्तरतर्फको फिल्ड अपरेसन कमान्डर तथा नेपाली सेनाका सहायक रथी उज्ज्वलविक्रम राणाले सुरुङभित्रको अवस्था निकै जटिल रहेको बताए।

उनका अनुसार सुरुङभित्र थुप्रिएको माटो, ढुंगा र गेग्रान हटाएर खोज तथा उद्धार कार्य अघि बढाउन लामो समय लाग्न सक्छ।

‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै हुनसक्ने सम्भावना देख्दिनँ। त्यसलाई तीनदेखि चार महिनामा पनि निकाल्न नसकिने अवस्था देखेको छु,’ राणाले भने।

यसबाट सुरुङभित्रको उद्धार तत्कालै पूरा हुने अवस्था नरहेको र उद्धार टोलीले अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेको देखिन्छ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि नेपालमा मात्र नभई विश्वमै यस्तो प्रकृतिको सुरुङ उद्धारका लागि आवश्यक विशेषज्ञता र क्षमता सीमित रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले सुरुङमा हुने सामान्य विपद्मा पहिरो पन्छाएर प्रवेश गर्ने प्रविधि तथा विशेषज्ञता विश्वका विभिन्न मुलुकमा भए पनि अहिलेको अवस्था फरक रहेको बताए।

उनका अनुसार अहिले सुरुङहरू सामान्य पहिरोले मात्र थुनिएका होइनन्। बाढीसँगै ठूलो मात्रामा हिलो, माटो तथा गेग्रान सुरुङभित्र पसेर भरिएकाले त्यसलाई हटाएर उद्धारकर्ताले भित्र प्रवेश गर्ने अवस्था सिर्जना गर्नु नै मुख्य चुनौती बनेको छ।

उद्धारसँगै शव पहिचानमा पनि विदेशी विशेषज्ञ

विदेशी टोलीको सहयोग खोज तथा उद्धारमा मात्र सीमित छैन। विपद्मा ज्यान गुमाएका व्यक्तिको शव पहिचान, व्यवस्थापन तथा डीएनए परीक्षणमा समेत विदेशी फरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरीलाई सहयोग गरिरहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न देशबाट आएका फरेन्सिक विशेषज्ञ टोली नेपाल प्रहरीसँग समन्वय गरी काम गरिरहेका छन्।

भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले डीएनए नमुना संकलन तथा परीक्षणको काममा नेपाल प्रहरीलाई सहयोग गरिरहेको छ। टोलीले मृतकबाट डीएनए नमुना निकाल्ने, त्यसको परीक्षण गर्ने तथा पहिचान प्रक्रियामा सहयोग गर्ने काम गरिरहेको जनाइएको छ।

त्यस्तै, मंगलबार चीनबाट पाँच सदस्यीय चिनियाँ फरेन्सिक टोली काठमाडौं आइपुगेको छ। उक्त टोलीले पनि नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको पहिचान तथा फरेन्सिक प्रक्रियामा सहयोग गर्नेछ।

सिंगापुरबाट पनि ६ सदस्यीय डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) टोली नेपाल आएर काम गरिरहेको छ। त्यसबाहेक डीएनए परीक्षणका लागि उपकरणसहित थप १३ सदस्यीय टोलीसमेत सिंगापुरबाट नेपाल आएको छ।

दक्षिण कोरियाबाट आएको फरेन्सिक टोली पनि काठमाडौंमा सक्रिय भएको छ। आवश्यक उपकरणसहित आएको उक्त टोलीले शव पहिचान तथा फरेन्सिक व्यवस्थापनमा नेपाल प्रहरीलाई सहयोग गर्नेछ।

अत्याधुनिक उपकरण प्रयोग

नेपालमा जारी खोज, उद्धार तथा शव पहिचान अभियानमा विदेशी सहयोगसँगै विभिन्न अत्याधुनिक उपकरणसमेत प्रयोग भइरहेका छन्।

विदेशबाट ल्याइएका तथा प्रयोगमा रहेका उपकरणमा लाइडार (लाइट डिटेक्सन एन्ड रेन्जिङ) प्रणाली, फ्रिजर, डीएनए परीक्षण किट, लोड क्यारियर, मानव अवशेष राख्ने विशेष झोला, उच्च क्षमताका ड्रोन तथा जिन सिक्वेन्सरलगायतका सामग्री रहेका छन्।

उच्च क्षमताका ड्रोनबाट दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा निगरानी र खोजी गर्न सहयोग पुगेको छ भने लाइफ डिटेक्टर र थर्मल इमेजिङ उपकरणले भग्नावशेष, हिलो तथा अन्य अवरोधभित्र मानिसको सम्भावित अवस्थिति पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।