काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विपद् व्यवस्थापन तथा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अमेरिकाले नेपाललाई सुरुङभित्र प्रयोग गर्न मिल्ने विशेष उपकरणसहित थप उद्धार सामग्री पठाएको छ।
अमेरिकाले दुईवटा सैन्य कार्गो विमानमार्फत बुधबार नेपाल ल्याएका सामग्रीमा सुरुङ तथा कठिन भूभागमा खोज तथा उद्धारका लागि प्रयोग गर्न सकिने दुईवटा विशेष उपकरणसहित करिब ५ हजार थान विपद् उद्धार सामग्री रहेको अमेरिकी दूतावासले जनाएको छ।
यी सामग्री बाढी तथा पहिरोमा परी ज्यान गुमाएका वा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारमा प्रयोग हुने बताइएको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि हाल देखिएको प्राविधिक चुनौतीलाई सम्बोधन गर्न ती उपकरण उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।

अमेरिकाले पठाएको सामग्रीमा ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडरसमेत रहेका छन्। अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार उक्त सहायता नेपाल सरकारको अनुरोधका आधारमा उपलब्ध गराइएको हो।
अमेरिकाले यसअघि बाढी तथा पहिरोबाट प्रभावितका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलर बराबरको सहयोगभन्दा यो पछिल्लो सहायता अतिरिक्त रहेको दूतावासले जनाएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीपछि करिब एक दर्जन जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति भएको छ। विभिन्न आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा मानिस फसेको वा बेपत्ता रहेको अवस्थामा उनीहरूको खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ।
बाढीका कारण सुरुङभित्र लेदो, ढुंगा तथा गेग्रान थुप्रिँदा उद्धार टोलीलाई सुरुङसम्म पुग्न र भित्र फसेकाहरूको उद्धार गर्न कठिनाइ भइरहेको छ। कतिपय स्थानमा सुरुङको प्रवेशमार्गसमेत अवरुद्ध भएकाले भारी उपकरण र वैकल्पिक प्रविधिको आवश्यकता देखिएको छ।

यस्तो अवस्थामा अमेरिकाबाट प्राप्त सुरुङ उद्धारमा प्रयोग गर्न मिल्ने उपकरण, स्ट्रेचर, प्राथमिक उपचार सामग्री तथा फ्रन्ट–एन्ड लोडरले खोज तथा उद्धार अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो विपद्ले नेपालमा कठिन भौगोलिक क्षेत्रमा हुने उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको अभावसमेत उजागर गरेको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा आपत्कालीन उद्धारका लागि आवश्यक पूर्वाधार, वैकल्पिक निकास र आधुनिक उद्धार प्रविधिको आवश्यकता रहेको विज्ञहरूले औंल्याउँदै आएका छन्।