काठमाडौं । रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ। नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार ५८ जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष रहेका छन्। साथै ३९० वटा आंशिक मानव अंग समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल ९७२ शवको लास जाँच मुचुल्का तथा पहिचान प्रक्रिया भइरहेको छ। बाढीको भयावहता र शवको अवस्था बिग्रिएकाले मृतकको पहिचान तथा व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाइएको छ।
हालसम्म ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान खुल्न नसकेका ६८४ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि पीडित परिवारको खोजी, मृतकको पहिचान र राहत व्यवस्थापनमा सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालित छन्।