काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई माध्यमबाट थप २३ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा समेत नेपाली सेना, विदेशी विज्ञ तथा प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ। चिलिमे हाइड्रोपावरको सुरुङमा टोली करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ। त्यस्तै, लाङटाङ हाइड्रोपावरको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल हेड फेला पारी कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ। सुरुङभित्र जमेको पानी निकाल्ने कार्य पनि जारी छ। सेनाले तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिसकेको जनाएको छ। सुरुङमा प्रवेश गर्ने बाटो बनाउन रक ब्रेकरको प्रयोग गरी ढुङ्गा फुटाउने कामसमेत भइरहेको छ।

त्यसैगरी, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि विज्ञसहितको टोली परिचालन गरिएको छ। टोलीले सुरुङ प्रवेश गर्ने द्वार पत्ता लगाएर एक्स्काभेटरको प्रयोगमार्फत खन्ने काम गरिरहेको सेनाले जनाएको छ।

जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार

बाढीपछि तत्काल सञ्चालन गरिएको उद्धार अभियानका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो।

उद्धार गरिएकामध्ये रसुवागढीबाट दुई, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३ ‘ए’ बाट २२१, अपर त्रिशूली–३ ‘बी’ बाट दुई, मैलुङबाट नौ, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन र देवघाट जलविद्युत् आयोजनाबाट पाँच जना रहेका छन्।

news-6a96b3d605a58-resque_2.webp

९ हजार २०० भन्दा बढी सैनिक परिचालन

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्।

सैनिक टोलीले जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने तथा आवश्यकताअनुसार खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

त्यसैगरी, घाइते तथा प्रभावितको उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम पनि सेनाले समन्वयात्मक रूपमा अघि बढाएको जनाएको छ।

प्रभावित क्षेत्रमा निःसंक्रमण अभियान

बाढीपछि प्रभावित क्षेत्रलाई स्वच्छ तथा निःसंक्रमित बनाउने उद्देश्यले नेपाली सेनाले विभिन्न स्थानमा निःसंक्रमणको कामसमेत अघि बढाएको छ।

सेनाका अनुसार धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र तथा सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनमा निःसंक्रमण गरिएको छ।

बाढीबाट प्रभावित अन्य क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निःसंक्रमण कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ।