अकल्यान्ड । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि न्युजिल्याण्ड तयार रहेको बताएका छन्।

अकल्यान्डमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री लक्सनले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका दृश्यहरू अत्यन्तै हृदयविदारक रहेको बताए। नेपाल र न्युजिल्याण्डबीचको सम्बन्ध ऐतिहासिक र विशेष रहेको उल्लेख गर्दै उनले सर एडमन्ड हिलारीसँग जोडिएको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताए।

लक्सनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका पाँच जना न्युजिल्याण्डका नागरिकको अवस्था अझै अज्ञात रहेको र उनीहरूको खोजी जारी रहेको बताए। उनीहरू प्रभावित क्षेत्रमा रहेको जानकारी सरकारसँग रहेको भन्दै प्रधानमन्त्री लक्सनले बेपत्ताहरूको अवस्थाबारे नेपालका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको बताए।

न्युजिल्याण्ड सरकारले नेपालमा कन्सुलर सहयोगका लागि नयाँदिल्लीबाट थप जनशक्ति परिचालन गरिसकेको र आवश्यक परे थप स्रोतसाधन तथा जनशक्ति परिचालन गर्न तयार रहेको प्रधानमन्त्री लक्सनले बताए।

नेपालमा रहेका आफन्तको अवस्थाबारे चिन्तित न्युजिल्याण्डस्थित नेपाली समुदायप्रति पनि सरकार गम्भीर रहेको उनले बताए। आफूले केही नेपाली परिवारसँग कुराकानी गरेको उल्लेख गर्दै लक्सनले यस्तो विपत्तिका कारण आफन्तको अवस्थाबारे अनिश्चिततामा रहेका परिवारका लागि समय निकै पीडादायी रहेको बताए।

प्रधानमन्त्री लक्सनले नेपालसँगै चीनमा आएको बाढीबाट भएको क्षतिप्रति पनि दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेका छन्।

उनले प्रभावित क्षेत्रमा रहेका न्युजिल्याण्डका नागरिकलाई सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी परिवार तथा साथीभाइलाई गराउन आग्रह गरेका छन्।

आपत्कालीन वा तत्काल कन्सुलर सहयोग आवश्यक परेमा न्युजिल्याण्डको २४ घण्टा उपलब्ध कन्सुलर आपत्कालीन नम्बर +64 99 20 20 20 मा सम्पर्क गर्न सकिने जनाइएको छ।