अकल्यान्ड । नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको श्रद्धामा न्युजिल्यान्डको अकल्यान्डमा आज साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदैछ।

न्युजिल्यान्ड नेपाल सोसाइटीको आयोजनामा अकल्यान्ड सीबीडीस्थित आओटिया स्क्वायरमा साँझ ४ बजे ‘क्यान्डललाइट भिजिल’ कार्यक्रम हुन लागेको हो। बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रभावितका लागि राहत सहयोग जुटाउन समुदायलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सोसाइटीले जनाएको छ।

सोसाइटीका अध्यक्ष रोशन खड्काका अनुसार कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरिनेछ। साथै, बाढीपछि अझै आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवारसँग समेत ऐक्यबद्धता जनाइने उनले बताए।

कार्यक्रममा अकल्यान्डमा रहेका नेपाली समुदायसँगै न्युजिल्यान्डमा रहेका अन्य समुदायका नागरिकलाई समेत सहभागी हुन सोसाइटीले आग्रह गरेको छ।

सोसाइटीका सचिव अक्टर राईले विपत्तिको यस घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउन र सक्दो सहयोगका लागि हातेमालो गर्न सबैलाई आह्वान गरेका छन्। “मैनबत्ती लिएर कार्यक्रममा उपस्थित भई नेपालप्रतिको आफ्नो साथ, संवेदना र आशा व्यक्त गर्न सबैलाई अनुरोध गर्दछु,” राईले भने।

“सँगै शोकमा, सँगै आशामा र सँगै नेपालका लागि” भन्ने भावनाका साथ आयोजना हुन लागेको कार्यक्रममा सहभागी भई प्रभावित परिवार तथा समुदायसँग उभिन सोसाइटीले आग्रह गरेको छ।

कार्यक्रम: शनिबार, २९ अगस्ट २०२६
स्थान: आओटिया स्क्वायर, अकल्यान्ड सीबीडी
समय: साँझ ४ बजे