एम्बुलेन्स रोकिन्छ।

ढोका खुल्छ।

घाइतेहरू एक–एक गर्दै बाहिर निकालिन्छन्।

आफन्त खोजिरहेका आँखाहरू हरेक अनुहारमा अडिन्छन्।

तर, खोजिरहेको मानिस त्यहाँ हुँदैन।

केही क्षणअघि आशाले भरिएको अनुहार फेरि निराश हुन्छ। कोही चुपचाप फर्किन्छन्, कोही घरमा रहेका आफन्तलाई फोन गरेर नयाँ जानकारी नभएको सुनाउँछन्। केहीबेरपछि फेरि अर्को एम्बुलेन्सको साइरन सुनिन्छ र अस्पताल परिसरमा फेरि त्यही आशा, त्यही दौड र त्यही प्रतीक्षा सुरु हुन्छ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको चौथो दिनसम्म पनि सयौं मानिस सम्पर्कविहीन रहँदा काठमाडौंका प्रमुख अस्पतालहरू अहिले घाइतेको उपचार गर्ने स्थान मात्र बनेका छैनन्। ती अस्पताल हराएका आफ्ना मानिसको कुनै संकेत भेटिन्छ कि भन्ने आशामा परिवारजन पुग्ने अन्तिम सम्भावनाका ठाउँ बनेका छन्।

शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलगायतका अस्पतालमा बिहानदेखि बेलुकासम्म एउटै दृश्य दोहोरिइरहेको छ—हातमा वा मोबाइलमा आफन्तको तस्बिर बोकेका मानिसहरू, सूचना बोर्डमा नाम खोजिरहेका परिवारजन र हरेक एम्बुलेन्ससँगै जाग्ने नयाँ आशा।

बाढीमा हराएका आफन्त जीवित छन् कि छैनन् भन्ने कुनै निश्चित जानकारी नपाएका परिवारका सदस्यहरू सरकारी खोजी अभियानको प्रतीक्षामा मात्र बस्न सकेका छैनन्। उनीहरू आफैं अस्पताल पुगिरहेका छन्। घाइतेको सूची हेर्दै छन्। स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दै छन्। कुनै सूचना आए फोन गरिदिन भन्दै आफ्नो नम्बर टिपाएर फर्किरहेका छन्।

तर, धेरैका लागि चार दिन बितिसक्दा पनि जवाफ एउटै छ—कुनै खबर छैन।

news-6a9225bfa4004-D8DBA1CD576CA2FE0E27F858307A1686_low_0.webp

काठमाडौंको फर्पिङकी विष्णुदेवी पनि यस्तै खोजीमा अस्पतालदेखि अस्पताल पुगिरहनुभएको छ। उहाँको मोबाइलमा श्रीमान् प्रदीप श्रेष्ठको तस्बिर छ। सम्पर्क नम्बर पनि छ। तर, बाढी आएको दिनदेखि फोन सम्पर्क हुन सकेको छैन।

प्रदीप साथीहरूसँग गोसाइँकुण्ड क्षेत्रतर्फ गएको परिवारले जनाएको छ। बाढीपछि उनी कहाँ छन् भन्ने कुनै जानकारी नआएपछि विष्णुदेवी अहिले काठमाडौंका अस्पताल चहारिरहनुभएको छ।

कतै घाइते भएर अस्पताल ल्याइएका छन् कि ?

कतै नाम नखुलेको अवस्थामा उपचार भइरहेको छ कि ?

कतै अर्को अस्पतालमा छन् कि ?

यिनै प्रश्न बोकेर उहाँ अस्पतालको एउटा ढोकाबाट अर्को ढोकासम्म पुगिरहनुभएको छ।

एम्बुलेन्सको आवाज सुन्नासाथ उहाँको ध्यान अस्पतालको प्रवेशद्वारतर्फ जान्छ। अरू आफन्तसँगै घाइतेको अनुहार हेर्न पुग्नुहुन्छ। कतै त्यही एम्बुलेन्समा आफ्ना श्रीमान् पो छन् कि भन्ने आशा जाग्छ।

तर, खोजिरहेको अनुहार नदेखिएपछि फेरि निराश भएर फर्किनुपर्छ।

बाढीपछि उहाँको दैनिकी अहिले अस्पताल, सूचना बोर्ड, मोबाइल, एम्बुलेन्स र प्रतीक्षामा सीमित भएको छ।

सिन्धुपाल्चोकका सोमबहादुर तामाङको प्रतीक्षा पनि उस्तै छ। उनका छोरा रसुवामा रहेको एक जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत थिए। बाढी आउनुअघि भएको अन्तिम फोन सम्पर्कमा छोराले काम सकेर छिट्टै घर फर्किने बताएका थिए।

त्यो सामान्य फोन संवाद अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ।

त्यसपछि न छोरा घर फर्किए।

न फोन आयो।

न उनको अवस्थाबारे कुनै निश्चित खबर नै प्राप्त भयो।

परिवारका लागि अहिले समय घडीको काँटाले मापन गर्ने विषय रहेन। प्रत्येक घण्टा नयाँ खबरको प्रतीक्षा बनेको छ।

कतै उद्धारमा परेका छन् कि ?

कतै घाइते भएर अस्पतालमा छन् कि ?

कतै सम्पर्कको माध्यम नहुँदा फोन गर्न नसकेका मात्र हुन् कि ?

आशा र डरबीच परिवारले यही प्रश्नसँग दिन बिताइरहेको छ।

news-6a9224b43d17d-hospital-badhi_111.webp

अर्घाखाँचीका ज्ञानुराम भुसाल पनि आफ्ना भान्जाको खोजीमा काठमाडौंका अस्पताल चहारिरहनुभएको छ। कहिले शिक्षण अस्पताल, कहिले वीर अस्पताल र कहिले राष्ट्रिय ट्रमा सेन्टर।

उनका भान्जा १२ जनाको टोलीसँग कैलाश मानसरोवर यात्रामा गएका थिए। बाढीपछि उनीसँग सम्पर्क टुटेको परिवारले जनाएको छ।

घरबाट बहिनीको फोन आइरहन्छ।

एउटै प्रश्न हुन्छ—“केही खबर आयो ?”

तर, भुसालसँग सुनाउनका लागि अहिलेसम्म कुनै निश्चित उत्तर छैन।

त्यसैले उहाँ फेरि अर्को अस्पतालतर्फ लाग्नुहुन्छ। अर्को सूचना बोर्ड हेर्नुहुन्छ। अर्को घाइतेको सूची खोज्नुहुन्छ। अर्को स्वास्थ्यकर्मीलाई मोबाइलमा रहेको तस्बिर देखाउनुहुन्छ।

सिन्धुपाल्चोककी मललामा तामाङ पनि यस्तै खोजीमा आफ्ना मामा खोज्दै राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।

अस्पताल परिसरमा जम्मा भएका मानिसहरूको परिचय फरक–फरक छ। कसैका श्रीमान् हराएका छन्। कसैका छोरा। कसैका भाइ। कसैका मामा। कसैका श्रीमती।

तर, उनीहरू सबैलाई त्यहाँ पुर्‍याएको प्रश्न एउटै छ—

हाम्रो मान्छे कहाँ छन् ?

काठमाडौंका अस्पतालका सूचना बोर्ड र भित्ताहरूमा अहिले हराइरहेका मानिसका तस्बिर बढ्दै गएका छन्।

कतै परिवारसँग हाँसिरहेको तस्वीर छ।

कतै परिचयपत्रका लागि खिचिएको औपचारिक फोटो।

कतै मोबाइलबाट निकालिएको सामान्य तस्वीर।

कतिपय तस्बिरमुनि नाम र सम्पर्क नम्बर लेखिएको छ। कतिपयमा परिवारजनले आफैं खोजीको अपिल गरेका छन्।

ती तस्बिरमा देखिएका मानिसहरू मुस्कुराइरहेका छन्।

तर, तस्बिरहरू बोल्दैनन्।

ती मुस्कानका पछाडि अहिले परिवारको चार दिन लामो खोजी लुकेको छ।

आफन्तहरू ती तस्बिर हातमा लिएर अस्पतालका कर्मचारीसँग सोध्छन्। वार्डमा नाम खोज्छन्। घाइतेको सूची हेर्छन्। कतिपयले मोबाइलमै फोटो देखाउँदै सोधिरहेका हुन्छन्—“यस्तो मान्छे आउनुभएको छ ?”

नाम भेटिएन भने अस्पताल प्रशासनमा आफ्नो नम्बर टिपाउँछन्।

त्यसपछि फेरि अर्को अस्पताल।

अर्को सूचना।

अर्को सम्भावित खबर।

अनि फेरि प्रतीक्षा।

बाढी आएको पहिलो दिन अधिकांश परिवार घाइतेको खोजीमा अस्पताल पुगेका थिए। दोस्रो र तेस्रो दिनसम्म पनि कुनै खबर नआएपछि खोजीको चिन्ता बढ्दै गयो। चौथो दिनसम्म आइपुग्दा कतिपय परिवारका लागि खोजीको स्वरूप नै बदलिन थालेको छ।

news-6a9225bfa822b-badi.webp

जीवितै भेटिने आशा अझै बाँकी छ।

तर, समय बित्दै जाँदा मनमा अर्को कठोर प्रश्न पनि उठ्न थालेको छ।

यदि जीवित भेटिएन भने ?

यही पीडादायी अनिश्चितताले कतिपय आफन्तलाई शवगृहसम्म पुर्‍याएको छ।

जीवितै भेटिने आशा र सम्भावित दुःखद् सत्यबीचको यही संघर्ष अहिले बाढीपीडित परिवारको सबैभन्दा ठूलो पीडा बनेको छ।

अस्पताल परिसरमा एम्बुलेन्सको आवाज अहिले सामान्य आवाज रहेन।

हराइरहेका मानिसका परिवारका लागि त्यो आवाज एउटा सम्भावित खबर हो।

साइरन बज्छ। मानिसहरू उठ्छन्। कसैले फोटो समाउँछन्। कोही दौडिन्छन्। घाइतेको अनुहार हेर्छन्। अनि खोजेको व्यक्ति नभेटिएपछि फेरि त्यही ठाउँमा फर्किन्छन्। तर, निराशा जति बढे पनि अर्को एम्बुलेन्स आउँदा उनीहरू फेरि उठ्छन्। आशा कमजोर भएको छ। तर, समाप्त भएको छैन।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोट हुँदै धादिङ र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म ठूलो असर पुर्‍याएको छ। हराइरहेका व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा सरकारी निकाय परिचालित छन्। प्रभावित क्षेत्र र नदी किनारमा खोजी कार्य जारी रहेको छ।

तर, सयौं मानिस अझै सम्पर्कविहीन रहँदा परिवारका सदस्यहरूका लागि सरकारी तथ्यांकभन्दा आफ्नै मानिसको खबर महत्वपूर्ण बनेको छ।

चार दिन बितिसक्दा पनि धेरैका लागि बिहानको पहिलो काम मोबाइल हेर्नु हो।

दिनभर अस्पताल पुग्नु हो।

घाइतेको सूचीमा नाम खोज्नु हो।

र साँझ फेरि अर्को दिन केही खबर आउने आशामा फर्किनु हो।

काठमाडौंका अस्पतालका भित्तामा टाँसिएका ती तस्बिरहरू अहिले हराएका मानिसका परिचय मात्र होइनन्। ती सयौं परिवारको अधुरो प्रतीक्षा हुन्।

तस्बिरमा हाँसिरहेका अनुहारहरूले अहिले केही बोल्दैनन्।

तर, ती तस्बिरअघि उभिएका परिवारजनका आँखामा एउटै प्रश्न देखिन्छ—

कतै हाम्रो मान्छे भेटिएको छ कि ?