काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आइतबार बिहानदेखि बाढीको बहाव पुनः बढेपछि सरोकारवाला निकायले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्। यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य जारी रहेका बेला नदीमा पानीको बहाव फेरि बढेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका टोली, नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले नदी आसपास अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीबाट आएको बाढीका कारण धादिङस्थित त्रिशूली नदीको जलसतह खतराको तहभन्दा करिब तीन मिटर माथि पुगेको छ। गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा जलसतह थप बढ्न सक्ने चेतावनी दिइएको छ।

यस्तै, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। पछिल्लो अवस्थालाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।