काठमाडौं।
हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने परम्परा अनुसार नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यस दिन मनाइएको छ। यस वर्षको ध्यान दिवस कार्यक्रम काठमाडौंको टुंडिखेलमा आयोजित गरिएको थियो, जहाँ सहभागीहरूले ध्यान र योगमार्फत मानसिक शान्ति र स्वास्थ्यको अनुभूति गरेका थिए।

ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा हाल करिब ६० देशका मानिसहरूले ध्यान गर्ने गरेको बताए। उनले नेपालभन्दा विकसित देशहरूमा पनि ध्यान र योगको आवश्यकता बढी रहेको बताउँदै यस क्षेत्रमा नेपालको योगदान अझ सशक्त बनाउन सरकारको सहयोग आवश्यक रहेको बताए।

स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेद सम्बन्धी कामको लागि नेपालमा छुट्टै मन्त्रालयको स्थापना आवश्यक रहेको बताएका छन्। उनले ध्यानका साधक, योग प्रशिक्षक र आयुर्वेदिक उपचार प्रणालीको संवर्द्धनका लागि अभिभावक मन्त्रालय दिने सरकारसँग माग पनि राखेका छन्।

उहाँले धार्मिक संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम र मुठीदानमा कर लगाउन नपर्ने व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो। योग र ध्यानको क्षेत्रमा सरकारी सहयोग नपुगेको कुरा औंल्याउँदै, यस विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो। स्वामी आनन्द अरुणले भने, “मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा हो। धार्मिक र ध्यान साधकहरूको प्रोत्साहनका लागि यस विषयमा सुधार आवश्यक छ।”

कार्यक्रममा स्थानीय तथा विदेशी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकहरूले यस दिनलाई विश्वभर ध्यान र योगको महत्वबारे जनचेतना फैलाउने अवसरको रूपमा पनि लिएका छन्।

विशेषगरी ध्यान र योगमार्फत मानसिक शान्ति, स्वास्थ्य र जीवनशैली सुधारमा योगदान पुग्ने भएकाले यस दिवसलाई नेपालमा अझ प्रभावकारी र दिगो रूपमा मनाउने तयारी गरिने आयोजकहरूले जानकारी दिएका छन्।