काठमाडौं।
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छिन्।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले, केही समययता परम्परागत चिकित्सा पद्धतिलाई लिएर “कुनै मन्त्रालयले नेतृत्व गरेको छैन” भन्ने गुनासो आए पनि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यस क्षेत्रमा नेतृत्व गर्दै आएको स्पष्ट पारिन्। उनले आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट विनियोजन गरिएको र हजारौं स्वास्थ्यकर्मी तथा सयौँ चिकित्सालयहरू यस कार्यमा संलग्न रहेको जानकारी दिइन्।

उनी भनिन्, “परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनै मन्त्रालयको नेतृत्व थिएन, तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई राष्ट्रिय नीति, स्वास्थ्य नीति, पञ्चवर्षीय रणनीति र कार्यनीतिमा समावेश गर्दै एक महत्वपूर्ण अंगका रूपमा अघि बढाएको छ। हाम्रो आयुर्वेद विभागबाट आवश्यक जानकारी पाउन सकिन्छ। अहिले यहाँ सचिवज्यू र आयुर्वेद विभागका महानिर्देशक समेत उपस्थित हुनुहुन्छ।”

मन्त्री गौतमले परम्परागत चिकित्सा पद्धतिमा आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री लगायतका अभ्यासहरू पर्छन् भन्ने जानकारी दिँदै, सरकारले यसलाई केवल स्वास्थ्य सेवा नभई राष्ट्रिय स्वास्थ्य कार्यक्रमको एक मुख्य हिस्सा बनाएको बताए।