काठमाडौं। नेपाल सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिपछि नेपाल चिकित्सक संघले देशभर सञ्चालन गर्दै आएको आन्दोलन स्थगित गर्दै काममा फर्कन सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई अपिल गरेको छ।

नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा नेपालभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए। घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै चिकित्सकहरूले सेवा प्रभावित हुने गरी आन्दोलन गरेका थिए।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा सरकारका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको वार्तापछि पाँचबुँदे सहमति भएको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने व्यक्तिमाथि गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम थप कानुनी कारबाही अघि बढाउनेछ।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षा ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधन गर्न आवश्यक विधेयक आगामी प्रतिनिधिसभा अधिवेशनमा पेश गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ। उक्त प्रक्रियामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।

त्यसैगरी, उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्यसम्बन्धी प्रावधानमा आवश्यक संशोधनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ।

यसका साथै, विगतमा सरकार र नेपाल चिकित्सक संघबीच भएका विभिन्न सहमतिहरूको कार्यान्वयनका लागि तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।

पाँचबुँदे सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर स्वास्थ्य सेवा पुनः नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।