काठमाडौं। आज साउन १५। नेपाली समाजमा परम्परागत रूपमा खीर खाएर मनाइने विशेष दिन। वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिन परिवार, इष्टमित्र र छोरीचेलीलाई घरमा बोलाएर खीर खुवाउने तथा आफन्तसँग खुसी साटासाट गर्ने चलन सदियौँदेखि कायम रहँदै आएको छ।

नेपाली लोकसंस्कृतिअनुसार असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा खाने परम्परा छ। यी परम्पराले नेपाली समाजको कृषि जीवन, मौसम र खानपान संस्कृतिबीचको गहिरो सम्बन्धलाई झल्काउने विश्वास गरिन्छ।

स्वास्थ्य र मौसमसँग जोडिएको परम्परा

साउने झरी र चिसो मौसममा तातो खीर स्वास्थ्यका लागि लाभदायक मानिन्छ। दूध, चामल, चिनी, घ्यू, सुकमेल, इलाइची, काजु, किसमिस तथा अन्य मरमसलासहित तयार गरिने खीर पौष्टिक तथा ऊर्जावर्द्धक परिकारका रूपमा लिइन्छ।

यही समयमा गाउँघरमा धान रोपाइँलगायत खेतीपातीको मुख्य काम सकिने, हरियाली बढ्ने र गाई–भैँसीले पर्याप्त दूध दिने भएकाले दूधबाट बनेका परिकार खाने परम्परा विकास भएको धार्मिक तथा सांस्कृतिक जानकारहरूको भनाइ छ।

धार्मिक दृष्टिले पनि विशेष महत्व

वैदिक परम्परामा संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक भोजनमध्ये उत्कृष्ट मानिन्छ। धर्मशास्त्रअनुसार देवपूजा, यज्ञ, श्राद्ध तथा पितृकार्यमा खीरको विशेष महत्व रहेको उल्लेख छ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिने भएकाले धेरै श्रद्धालुले आजको दिन शिव मन्दिरमा दूध तथा खीर चढाएर पूजा–आराधना गर्ने परम्परा पनि निभाउने गर्छन्। धार्मिक विश्वासअनुसार देवतालाई अर्पण गरेपछि प्रसादका रूपमा खीर ग्रहण गर्दा शुभफल प्राप्त हुने मान्यता छ।

विभिन्न प्रकारका खीर बनाउने चलन

नेपालका विभिन्न समुदाय र भौगोलिक क्षेत्रअनुसार खीर बनाउने शैली पनि फरक–फरक छ। परम्परागत रूपमा चामलको खीर सबैभन्दा लोकप्रिय भए पनि साबुदाना, सेवई, मकै, गाजर, फापर तथा अन्य स्थानीय सामग्री प्रयोग गरेर पनि खीर बनाइन्छ। साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर खाने चलन पनि धेरै स्थानमा प्रचलित छ।

संस्कृतिको जीवन्त प्रतीक

नेपाली बृहत् शब्दकोशले खीरलाई “दूधमा चामल, चिनी तथा मसला हालेर पकाइने स्वादिष्ट खाद्य पदार्थ (पायस)” भनेर परिभाषित गरेको छ।

आधुनिक जीवनशैलीसँगै खानपानका बानी परिवर्तन हुँदै गए पनि साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा अझै जीवन्त छ। धेरै परिवारले आजको दिन आफन्त, इष्टमित्र र छोरीचेलीलाई निम्तो दिएर सामूहिक रूपमा खीर खाने, शुभकामना आदानप्रदान गर्ने र पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने परम्परा निरन्तर कायम राखेका छन्।