नेपाल।
सुदूरपश्चिममा रहेको दुर्गम अपि हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै, यो क्षेत्र अहिले साहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ।

गाउँपालिकाको स्थानीय नेतृत्वले योजनाबद्ध विकासमा जोड दिएपछि अपि हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय गन्तव्य र राष्ट्रिय स्तरको पर्यटकीय स्थल बनाउने लक्ष्य लिएको थियो। योजनाबद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपि हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९ग्ल्म्ए० को सहयोगमा गाउँपालिकाले पर्यटन व्यवसायीलाई विभिन्न तालिम सञ्चालन गरिरहेको छ। त्यस्तै, बेसक्याम्पसम्मको पूर्वाधार विस्तारमा पनि तीव्र काम भइरहेको छ। अध्यक्ष बोहराले भने, “अपी हिमाल गाउँपालिका दुर्गम भए पनि पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन। त्यसैले हामीले गाउँपालिका विकासका लागि योजनाबद्ध कदम चाल्यौं र यसमा टि–हाउस, गेस्ट हाउस र होमस्टेको व्यवस्था, ट्रेकिङ ट्रेल निर्माण, ट्रेकिङ गाइड तालिम जस्ता गतिविधिहरू समावेश गरेका छौँ।”

गत आर्थिक वर्षमा मात्र करिव ५ हजार आन्तरिक र बाह्य पर्यटकले अपि हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन्। पर्यटकको चहलपहल बढेसँगै स्थानीय स्तरमा झन्डै ४–५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्। साथै, रैथाने उत्पादन र परिकारको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन्।

अध्यक्ष बोहराले थपे, “अब पर्यटक बढ्दै गएपछि स्थानीयको जीविकोपार्जनको आधार पर्यटन नै बन्नेछ। हाम्रो मुख्य लक्ष्य भनेको पर्यटन व्यवसायको दिगोपना, गुणस्तरीय सेवा र व्यवस्थापन सुनिश्चित गर्नु हो। हामीले टि–हाउस, होमस्टे, होटल व्यवसायी, ट्रेकिङ गाइड तथा पोर्टरलाई तालिम प्रदान गर्दैछौं। पर्यटकले स्थानीय उत्पादनको स्वाद लिन सकून् र स्थानीयलाई आर्थिक लाभ पुगून् भन्ने उद्देश्यसहित सबै गतिविधि सञ्चालन गरिरहेका छौँ।”

गाउँपालिकाले प्राकृतिक मनोरम दृश्यको सदुपयोग गर्दै ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, साइनेज र नक्शा निर्माणमा जोड दिएको छ। अपि–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डको रूपमा विकास गर्ने तयारी पनि भएको छ।

काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपि हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ। बेसक्याम्प क्षेत्रबाट अपि, नाम्पा लगायत १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ। सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपि बेसक्याम्प घुमेर फर्किन सकिन्छ।

यसरी अपि हिमाल गाउँपालिकाले छोटो समयमै पर्यटन क्षेत्रलाई व्यवस्थित र दिगो बनाउन पहल गर्दै आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ।

– न्युज एजेन्सी नेपाल