सौरभ बस्नेत, अकल्याण्ड
न्युजिल्याण्ड नेपाल सोसाइटीले आज अकल्याण्डमा आयोजना गरेको क्रिसमस इन द पार्क कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अकल्याण्ड तथा त्यस आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा दिनभर सहभागीहरूको आवागमन निरन्तर रहेको थियो। नेपाली तथा बहुसांस्कृतिक समुदायलाई एकै स्थानमा ल्याई पारिवारिकमैत्री वातावरणमा क्रिसमस र नयाँ वर्षको उत्सव मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले परदेशीकुरालाई जानकारी दिए।

कार्यक्रममा सांगीतिक प्रस्तुति, विविध मनोरञ्जनात्मक गतिविधि तथा पारिवारिक सहभागितामूलक कार्यक्रमहरू समावेश गरिएको थियो। सहभागीहरूका लागि सिक्रेट सान्ता उपहार आदान–प्रदान, बालबालिकाका लागि विशेष उपहार, बाउन्सी क्यासल, भलिबललगायत खेलकुद गतिविधि आयोजना गरिएको थियो। साथै, नेपाली परिकारका साथै बार्बिक्युको व्यवस्था गरिएको थियो, जसले कार्यक्रममा थप रौनक थपेको थियो।

कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले परिवारसहित उपस्थित भई रमाइलो, हाँसो र सौहार्दपूर्ण वातावरणमा क्रिसमस मनाए। बालबालिकाहरू रमाइरहेको दृश्यले अभिभावकहरू अझ बढी आनन्दित देखिन्थे। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी आत्मीयता, एकता र सहकार्यलाई थप सुदृढ बनाएको छ।

सोसाइटीका अध्यक्ष रोशन खडकाले पुरानो वर्षलाई खुसीपूर्वक विदा गर्दै नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। परदेशीकुरासँग कुरा गर्दै उनले भने, “यो हाम्रो वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षको अन्तिम कार्यक्रम हो। नयाँ विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गर्ने, नेपाली परिवारलाई एउटै स्थानमा भेटघाट गराउने र समुदायबीचको आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।”

आयोजकका अनुसार यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नो संस्कृति, परम्परा र पहिचानसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।