अकल्यान्ड। अकल्यान्डको माउन्ट वेलिङ्टनस्थित सिल्भिया पार्कमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। पेनरोजस्थित बन्दुक पसलबाट एयर राइफल चोरी गरेर भागेका व्यक्तिलाई प्रहरीले पछ्याउने क्रममा उक्त घटना भएको हो।
अकल्यान्ड सिटी डिस्ट्रिक्ट कमान्डर सुपरिटेन्डेन्ट सन्नी पटेलका अनुसार चोरीको सूचना पाएपछि प्रहरीले गाडीमार्फत भागेका व्यक्तिको खोजी सुरु गरेको थियो। प्रहरीको ईगल हेलिकप्टरले सिल्भिया पार्क नजिकै सेतो सुजुकी स्विफ्ट फेला पारेपछि प्रहरीले गाडीलाई पछ्याएको थियो।
करिब २ः५० बजे गाडी सिल्भिया पार्कबाहिर रोकिएपछि लामो नाल भएको एयर राइफल बोकेर व्यक्ति पैदल भागेको प्रहरीले जनाएको छ। प्रहरीले पछ्याउँदै सिल्भिया पार्कको प्रवेशद्वार नजिकैको ओभरपासमुनि उनलाई गोली हानेको थियो। तत्काल प्राथमिक उपचार गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि सिल्भिया पार्कमा ठूलो प्रहरी परिचालन गरिएको थियो। केही पसलका कर्मचारी तथा ग्राहकलाई भित्रै सुरक्षित रहन निर्देशन दिइएको थियो भने केही क्षेत्र लकडाउन गरिएको थियो। प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुनेको र सशस्त्र प्रहरी परिचालन भएको बताएका छन्।
प्रहरीका अनुसार मृतक व्यक्ति प्रहरीलाई परिचित भए पनि उनी पक्राउ पुर्जीमा खोजीमा रहेका व्यक्ति भने थिएनन्। उनी जमानतका सर्तमा रहेको भए पनि ती सर्त उल्लङ्घन नगरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले ‘क्रिटिकल इन्सिडेन्ट इन्भेस्टिगेसन’ सुरु गरेको छ। एयर राइफल कसरी चोरी भयो, त्यसमा गोली भरिएको थियो कि थिएन र मृतकको सम्भावित उद्देश्य के थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
