अकल्यान्ड। न्युजिल्यान्डका नेसनल पार्टीका सांसद तथा मन्त्री क्रिस पेन्कको राजनीतिक यात्रामा करिब–करिब पूर्णविराम लागेको छ। उनले आगामी नोभेम्बरमा हुने आमनिर्वाचनमा पुनः उम्मेदवारी नदिने घोषणा गरेका छन्।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनविरुद्ध नेतृत्व चुनौतीमा मुख्य भूमिका रहेको आरोपको सामना गर्दै आएका पेन्कको मन्त्री पद पनि प्रधानमन्त्री लक्सनले खोसेका छन्। त्यसको केही घण्टापछि पेन्कले राजनीतिबाट बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।

बुधबार बिहान आकस्मिक रूपमा बसेको नेसनल पार्टीको ककस बैठकमा प्रधानमन्त्री लक्सनमाथि विश्वासको मतदान भएको थियो। मतदानमा लक्सनले ककसको पूर्ण समर्थन प्राप्त गरेपछि उनी नेसनल पार्टीको नेता तथा प्रधानमन्त्रीकै रूपमा कायम रहेका छन्।

विश्वासको मतदानपछि केही घण्टामै लक्सनले पेन्कसँग रहेका सबै मन्त्री पद फिर्ता लिए। लक्सनले पेन्कले यसै साता नेतृत्व चुनौती अघि बढाएको र त्यसकै परिणामस्वरूप विश्वासको मतदान गर्नुपरेको बताएका छन्।

“क्रिस पेन्कले यसै साता नेतृत्व चुनौती अघि बढाए, जसका कारण आज विश्वासको मतदान भयो। यस परिस्थितिले उनको मन्त्रीका रूपमा भूमिका असम्भव बनाएको छ, त्यसैले मैले उनका सबै मन्त्री पद फिर्ता लिएको छु,” लक्सनले भने।

मन्त्री पद गुमाएपछि बुधबार साँझ पेन्कले आफ्नो राजनीतिक भविष्यबारे परिवारसँग छलफल गरेर आगामी निर्वाचनमा सांसदका रूपमा पुनः उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्।

पेन्कले आफू नेसनल पार्टीको गर्विलो सदस्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनपछि पनि लक्सनको नेतृत्वमा नेसनल पार्टीले सरकार बनाओस् भन्ने आफ्नो पूर्ण समर्थन रहेको बताए।

“नेसनल पार्टी र क्रिस्टोफर लक्सनलाई पूर्ण समर्थन गर्दै सरकारको नेतृत्वमा देशलाई अघि बढाएको हेर्न चाहन्छु,” उनले भने।

काइपारा कि महुराङ्गी क्षेत्रबाट पछिल्लो नौ वर्ष जनप्रतिनिधिका रूपमा काम गर्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उल्लेख गर्दै पेन्कले मन्त्रीका रूपमा यस कार्यकालमा आफूले गरेको योगदानप्रति गर्व रहेको बताए। तर अब न्युजिल्यान्डको सेवा गर्ने अन्य अवसर खोज्ने समय आएको उनको भनाइ छ।

पेन्कले आफ्नो वक्तव्यमा आफूले प्रधानमन्त्रीविरुद्ध नेतृत्व चुनौती अघि बढाएको भन्ने आरोपबारे भने प्रत्यक्ष रूपमा केही उल्लेख गरेका छैनन्।

प्रधानमन्त्री कार्यालयका अनुसार पेन्कले आफ्नो राजनीतिक भविष्यका लागि आफैं नेतृत्व चुनौती अघि बढाएका थिए। उनी कुनै अर्को नेताको पक्षमा संख्या जुटाउने अभियानमा संलग्न रहेको भन्ने दाबीलाई प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ।

पेन्कको मन्त्री पद हटाइएपछि पूर्वअर्थमन्त्री पल गोल्डस्मिथलाई रक्षा, पूर्वसैनिक, अन्तरिक्ष, सरकारी सञ्चार सुरक्षा ब्युरो र न्युजिल्यान्ड सुरक्षा तथा गुप्तचर सेवासम्बन्धी जिम्मेवारी दिइएको छ। साइमन वाट्सलाई भवन तथा निर्माणमन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि बुधबार दिउँसो प्रधानमन्त्री लक्सनले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध यस वर्ष भएको दोस्रो नेतृत्व चुनौती पनि असफल भएको घोषणा गरेका थिए। उनले नेसनल पार्टीको ककसबाट आफूले पूर्ण विश्वास प्राप्त गरेको बताएर प्रश्नको उत्तर नदिई पत्रकार सम्मेलनबाट बाहिरिएका थिए।

पेन्कले भने यसअघि आफू प्रधानमन्त्री लक्सनप्रति पूर्ण विश्वस्त रहेको निरन्तर बताउँदै आएका थिए। मंगलबार राति वेलिङ्टन पुगेपछि पनि उनले आफू लक्सनको नेतृत्वमा विश्वस्त रहेको र विश्वासको मतदान भएमा उनलाई समर्थन गर्ने बताएका थिए।

“मैले सधैँ नेतामाथि विश्वास व्यक्त गरेको छु। अहिले पनि त्यही अवस्था हो,” उनले भनेका थिए।

आफूलाई कसैले नेतृत्वसम्बन्धी छलफलका लागि सम्पर्क गरेको हो वा होइन भन्ने प्रश्नमा पेन्कले निजी कुराकानी सार्वजनिक नगर्ने बताएका थिए। तर आफू नेतृत्व चुनौतीको योजनाकार भएको भन्ने समाचारलाई उनले गलत भनेका थिए।

बुधबार बिहान पनि उनले लक्सनप्रति आफ्नो विश्वास दोहोर्‍याउँदै आफूलाई लिएर विभिन्न प्रकारका समाचार बाहिर आएको बताएका थिए।

पेन्कलाई पूर्वमन्त्री जुडिथ कोलिन्सको राजनीतिक अवकाशपछि गत अप्रिलमा मात्र मन्त्रिपरिषद्मा बढुवा गरिएको थियो। उनी सन् २०१७ देखि सांसद थिए। सुरुमा हेलन्सभिल क्षेत्रबाट निर्वाचित भएका पेन्क पछिल्लो समय पुनःनिर्धारित काइपारा कि महुराङ्गी निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए।