ह्यामिल्टन।
न्युजिल्याण्डको ह्यामिल्टन सहरमा आयोजित नेपाल–न्युजिल्याण्ड वाइकाटो फ्रेन्डसिप सोसाइटी (एनएनजेडडब्लुएफएस) ले क्रिसमस परेड २०२५ भव्यताका साथ सम्पन्न गरेको छ । एनएनजेडडब्लुएफएसले नेपाली संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने तथा सबैलाई समान दृष्टिले हेर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको सक्रिय सहभागिता रहेको थियो ।
परेडमार्फत नेपाली संस्कृति, रङ्गीन भेषभूषा र मौलिक परम्परालाई ह्यामिल्टनवासी तथा सहभागी दर्शकहरूमाझ उजागर गरिएको हो । परेडका क्रममा नेपाली समुदायले परम्परागत पोशाक, सांस्कृतिक संगीत र सामूहिक सहभागितामार्फत विविधता, आपसी सद्भाव र समुदायको वास्तविक अर्थलाई प्रतिबिम्बित गरेको थियो । नेपाली झाँकीले परेडमा सहभागी अन्य समुदाय तथा दर्शकहरूको विशेष ध्यान तानेको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपालबाट टाढा रहे पनि आफ्नो मौलिक पहिचान र संस्कृतिप्रति गर्व गर्दै नेपालीपनलाई आत्मसात गरेको देखिन्थ्यो । यस्ता सांस्कृतिक कार्यक्रमहरूले आप्रवासी समुदाय र स्थानीय समाजबीच आपसी समझदारी, सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । यसले न्युजिल्याण्डलाई बहुसांस्कृतिक समाजका रूपमा थप सुदृढ बनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।


फोटो : सोसाइटीको फेसबुक पेजबाट
