अकल्याण्ड। न्युजिल्यान्डमा रहेका नेपाली समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था न्युजिल्यान्ड नेपाल सोसाइटी ९एनजेडएनएस० को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको घोषणा गरिएको छ। तर, सोही दिन दुई फरक कार्यसमिति सार्वजनिक भएपछि संस्थाको आधिकारिक नेतृत्वबारे अन्योल उत्पन्न भएको छ।

संस्थाका निवर्तमान अध्यक्ष डा। रोशन खड्काको नेतृत्वमा एक कार्यसमिति चयन भएको घोषणा गरिएको छ। यसअघि पनि डा। खड्काको नेतृत्वमा सञ्चालित कार्यसमितिले आयोजना गरेका विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा न्युजिल्यान्डस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहँदै आएको थियो। यही कारण समुदायको एक ठूलो पक्षले उनको नेतृत्वलाई निरन्तरता प्राप्त नेतृत्वका रूपमा स्वीकार गरेको देखिन्छ। यद्यपि, अर्को पक्षले भने उक्त नेतृत्वलाई स्वीकार नगरी छुट्टै कार्यसमिति गठन गरेको छ।

डा। खड्काको नेतृत्वमा गठित कार्यसमितिमा विशेष खड्का उपाध्यक्ष, एक्टर राई सचिव, सनम रोका सह–सचिव तथा मिलन राना कोषाध्यक्ष चयन भएका छन्। कार्यसमिति सदस्यमा सञ्जय शान्ति सुवेदी र निर्माण न्यौपाने रहेका छन्।

नवनिर्वाचित नेतृत्वलाई नेपाली समुदायका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले न्युजिल्यान्डमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने तथा नयाँ पुस्तालाई समुदायसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, गत जुन २७ मा सोसाइटीकै नाममा आयोजित भनिएको अर्को साधारणसभाबाट झरना घिमिरेको अध्यक्षतामा पनि अर्को कार्यसमिति चयन भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।

उक्त कार्यसमितिमा सुमना केसी उपाध्यक्ष, दिपक रिजाल सचिव, अलिशा पौडेल सहसचिव तथा सुनिल पौडेल कोषाध्यक्ष चयन भएको उल्लेख गरिएको छ। त्यसैगरी कार्यसमिति सदस्यमा अजय आचार्य, अनिता बनजाडे र हिमाल बिनाडी निर्वाचित भएको जनाइएको छ।

सोही मितिमा एउटै संस्थाको नाममा दुई फरक कार्यसमिति सार्वजनिक भएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा संस्थाको आधिकारिक नेतृत्वबारे केही अन्योल देखिएको छ। यो विवाद अघिल्लो वर्षदेखि नै देखिँदै आएको भए पनि दुवै पक्षबीच संवादमार्फत साझा सहमति कायम हुने अपेक्षा समुदायका धेरै सदस्यहरूले गरेका छन्। समुदायका केही अग्रज तथा सामाजिक अभियन्ताहरूले पनि संस्थालाई पुनः एकताबद्ध बनाउन पहल गरिरहेको बताएका छन्।