काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संगठनको नेतृत्व व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए।

बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्ले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCLOS) अन्तर्गतको सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न पनि स्वीकृति दिएको छ।

यस्तै, सुशासन प्रवर्द्धन तथा सार्वजनिक जीवनमा नैतिकता सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय सदाचार नीति, २०८३ र विज्ञापन क्षेत्रलाई व्यवस्थित तथा उत्तरदायी बनाउने लक्ष्यसहित राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, संस्थागत सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।