अकल्यान्ड।
दक्षिण अकल्यान्डमा परम्परागत सिख नगर कीर्तन जुलुसमा ब्रायन तमाकीसँग सम्बन्धित एक समूहले अवरोध सिर्जना गरेको छ । ख्रीष्टियन नेता ब्रायन तमाकीद्वारा स्थापना गरिएको ट्रु प्याट्रियट्स अफ एनजेड नामक समूहले सिख समुदायको ¥यालीमा अवरोध पुर्याउँदै हाका सहित नाराबाजी गरेका थिए ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दुवै पक्षलाई अलग–अलग गराएर अवस्था नियन्त्रणमा लिएको थियो ।
ट्रु प्याट्रियट्स समूहका सदस्यहरूले निलो रङका टिसर्ट लगाएका थिए । उनीहरूले ‘किवीहरू पहिले’, ‘न्युजिल्याण्डलाई न्युजिल्याण्ड नै राखौँ’ र ‘साँचो देशभक्त’ जस्ता नारा लेखिएका लुगा लगाएका थिए । उनीहरूले ‘यो न्युजिल्याण्ड हो, भारत होइन’ भन्ने ठूलो ब्यानर समेत प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरूले हाका प्रस्तुत गर्दै “एक मात्र साँचो भगवान”, “येशू” र “राष्ट्रका भगवान” भन्ने नारा लगाएका थिए ।
प्रहरीका अनुसार ग्रेट साउथ रोडमा अकल्यान्ड सिख समुदायले आयोजना गरेको अनुमति प्राप्त सार्वजनिक जुलुसका क्रममा भएको घटनाबारे थप छानबिन जारी छ । उनका अनुसार मनुरेवा क्षेत्रको सिख समुदायले आफ्नो पहिलो गुरुको जन्मोत्सवको सम्मानमा जुलुस निकाल्न कानुनी अनुमति लिएको थियो र सबै आवश्यक प्रक्रिया पूरा गरेको थियो ।
टाकानिनी क्षेत्रकी सांसद रिमा नाख्लेले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति आक्रोश र निराशा व्यक्त गर्दै सिख समुदायलाई लक्षित गरी आक्रामक र धम्कीपूर्ण प्रदर्शन भएको बताइन् । “दक्षिण अकल्यान्डमा हाम्रो सिख समुदायलाई लक्षित गरिएको तरिका अत्यन्तै निराशाजनक छ,” उनले आफ्नो फेसबुकमा लेखेकी छन् ।
नाख्लेले सिख समुदायले न्युजिल्याण्डको सामाजिक र आर्थिक जीवनमा ठूलो योगदान दिएको उल्लेख गर्दै कोभिड–१९ महामारीका बेला हजारौँ खाद्य सामग्री वितरण, क्राइस्टचर्च मस्जिदमा भएको मार्च १५ को आतङ्कवादी आक्रमणका पीडितका लागि ८० हजार डलर संकलन तथा समुदाय गस्तीका लागि सवारीसाधन सहयोग जस्ता कार्यको प्रशंसा गरिन् । “म स्वयं ख्रीष्टियन हुँ, तर मेहनती, शान्त र परोपकारी समुदायलाई लक्षित गर्नु येशूको शिक्षा होइन,” उनले उल्लेख गरिन् ।
यसैबीच, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको फ्री स्पिच युनियन ले पनि घटनाको निन्दा गरेको छ । संस्थाकी प्रमुख कार्यकारी जिलेन हेदरले ५० जनाले मिलेर नगर कीर्तन जुलुस रोक्नु प्रतिविरोध नभई अरूको कानुनी अभिव्यक्ति रोक्ने कार्य भएको बताइन् । “कुनै पनि समूहलाई सार्वजनिक जीवनबाट हटाउने प्रयास अलोकतान्त्रिक र क्रूर हो,” उनले भनिन्, न्युजिल्याण्ड हेराल्डमा समाचार प्रकाशित भएको हो ।
