काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले न्यायका लागि लड्न अझै धेरै बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध भएको अन्याय देशमाथि भएका अन्यायहरूको तुलनामा केही पनि नभएको उल्लेख गरे ।

आफू बोल्ने समय आउने भन्दै लामिछानेले सबै कुराको हिसाबकिताब गर्न बाँकी रहेको बताए ।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ । मैले अझै धेरै लड्नुपर्छ,’ उनले भने, ‘मैले लड्न बाँकी छ भनेको केवल मेरो लागि होइन, तपाईंहरूका लागि र यो देशको न्यायका लागि हो । यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन । त्यसको सबै हिसाब गर्न बाँकी छ ।’

काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण लामिछाने चितवनसम्म मात्रै जहाजमा आएर त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा कारागार पुगेका थिए ।

लामिछाने कारागार आइपुग्दा तथा रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले हुटिङ गर्दै खुशियाली मनाएका थिए ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागजात पूरा भएपछि उनलाई रिहा गरिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो । बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।