काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनलाई अन्तिम रूप दिने तयारी गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् गठन लगभग टुंगिएको छ र प्रमुख मन्त्रालयहरूको जिम्मेवारी पनि निश्चित भइसकेको छ।

सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयमा शिशिर खनालको नाम निश्चित भएको बताइएको छ । त्यसैगरी कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमले सम्हाल्ने तय भएको छ भने अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

रास्वपाका एक शीर्ष नेताका अनुसार अन्य मन्त्रालयहरूको जिम्मेवारी पनि करिब टुंगिसकेको छ । “मुख्य मन्त्रालयहरू फाइनल भइसकेका छन्, बाँकी पनि अन्तिम चरणमा छन्,” ती नेताले बताएका छन्।

सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम चर्चामा छन्। यद्यपि यी नामहरूको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूलाई पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह तथा उनको सचिवालयमार्फत फोन र सन्देश पठाएर जानकारी दिइसकिएको छ।

यसैबीच, आज दिउँसो १२:३० बजे प्रधानमन्त्री बालेन शाहले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। उनको शपथलगत्तै मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको बताइएको छ, जसले नयाँ सरकार गठन प्रक्रियालाई थप गति दिएको छ ।