काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको साउनमा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। चालु आवको पहिलो महिनामै आयात र निर्यात दुवैमा उच्च वृद्धि देखिएको विभागको तथ्यांकले देखाएको छ।

साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही महिनाको तुलनामा ३१.०४ प्रतिशत बढी हो। गत वर्ष साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

त्यसैगरी, साउनमा नेपालको निर्यात ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यो गत आवको साउनको तुलनामा ६१.७२ प्रतिशतको वृद्धि हो। गत वर्ष साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। साउनमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८२.८९ प्रतिशत कायम भएको छ। गत वर्षको तुलनामा निर्यातको हिस्सा १९.४१ प्रतिशतले बढ्दा आयातको हिस्सा ३.२५ प्रतिशतले घटेको विभागले जनाएको छ।

आयातमा भएको वृद्धिसँगै व्यापार घाटा पनि बढेको छ। साउनमा नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको साउनको तुलनामा २४.८८ प्रतिशत बढी हो। गत आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ थियो।

साउनमा खाना पकाउने ग्यासको आयातमा भएको खर्च उल्लेख्य बढेको छ। गत वर्ष साउनमा ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएकोमा यस वर्ष ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको छ। परिमाणका हिसाबले यस वर्ष ५ करोड ७३ लाख केजी ग्यास आयात भएको छ, जबकि गत वर्ष ४ करोड ४३ लाख केजी आयात भएको थियो।

ग्याससहित चालु आवको पहिलो महिनामै इन्धन आयातमा ३५ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ। गत आवको साउनमा इन्धन आयातमा २१ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो।

साउनमा आयात हुने प्रमुख वस्तुमध्ये वनस्पति तथा जनावरको घिउ तथा तेल २३ अर्ब ६२ करोड रुपैयाँ बराबरको रहेको छ। त्यस्तै, मल आयातमा १२ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ भने ११ अर्ब ७२ करोड रुपैयाँ बराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। गत वर्ष साउनमा मल आयात ६ अर्ब ९७ करोड र सवारीसाधन आयात ८ अर्ब १ करोड रुपैयाँ बराबरको थियो।

आइरन तथा स्टिलको आयात भने यस वर्ष केही घटेको छ। साउनमा १० अर्ब ११ करोड रुपैयाँ बराबरको आइरन तथा स्टिल आयात भएको छ, जबकि गत वर्ष सोही महिनामा ११ अर्ब ९ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

वस्तुगत रूपमा हेर्दा साउनमा सबैभन्दा धेरै कच्चा सोयाबिन तेल आयात भएको छ। यसको आयात १८ अर्ब ४० करोड रुपैयाँ बराबरको छ। डिजेल १३ अर्ब ८५ करोड, खाना पकाउने ग्यास ८ अर्ब ४६ करोड र डीएपी मल ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको आयात भएको छ।

त्यस्तै, पेट्रोल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ। पहिलो महिनामा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका स्मार्टफोन, १ अर्ब २० करोड रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक र १ अर्ब १ करोड रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्यांक छ।

निर्याततर्फ भने वनस्पति तेलको वर्चस्व कायमै छ। साउनमा १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर मुख्यतः भारततर्फ वनस्पति तेल निर्यात गर्दै आएको छ।

यस अवधिमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको पाम आयल तथा १ अर्ब २० करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ। स्टिलको निर्यात १ अर्ब १५ करोड, जुटको १ अर्ब ६ करोड र कार्पेटको ८४ करोड रुपैयाँ बराबर रहेको छ। अलैँची निर्यातबाट ६७ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग साउनमा पनि व्यापारको ठूलो हिस्सा कायम रहेको छ। भारतबाट एक महिनामै १ खर्ब २ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने नेपालबाट भारततर्फ ३३ अर्ब २६ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। भारतसँग नेपालको व्यापार घाटा ६९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

चीनबाट साउनमा ३१ अर्ब ७४ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। तर चीनतर्फ नेपालको निर्यात भने २१ करोड रुपैयाँमा सीमित छ। भारत र चीनपछि अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापार साझेदार बनेको छ। अर्जेन्टिनाबाट १३ अर्ब ८५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

त्यस्तै, साउदी अरेबियाबाट ४ अर्ब ९८ करोड, रुसबाट ४ अर्ब १३ करोड र अमेरिकाबाट ३ अर्ब ३४ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

साउनको तथ्यांकले एकातर्फ नेपालको निर्यातमा उल्लेख्य सुधार देखिए पनि अर्कोतर्फ आयातको उच्च वृद्धिका कारण व्यापार घाटा अझै ठूलो रहेको देखाएको छ। विशेषगरी इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न तथा उपभोग्य वस्तुको उच्च आयातले नेपालको वैदेशिक व्यापार संरचनामा आयात निर्भरता कायमै रहेको संकेत गरेको छ।