अकल्याण्ड । न्युजिल्यान्डको लेबर पार्टीले आगामी आमनिर्वाचनका लागि आफ्नो चुनावी नारा सार्वजनिक गरेको छ। पार्टीले ‘Better starts now’ (अब राम्रो सुरुवात अब) भन्ने नारासहित चुनावी अभियान अघि बढाउने भएको हो।

लेबर पार्टीका नेता क्रिस हिप्किन्सले क्राइस्टचर्चमा आयोजित कार्यक्रममा नयाँ नारा सार्वजनिक गरेका हुन्। उनले अब पार्टीको चुनावी अभियान थप तीव्र बनाइने र आगामी दुई सातामा देशभर चुनावी प्रचार सामग्री राखिने बताए।

लेबरले आगामी निर्वाचनमा रोजगारी, स्वास्थ्य, आवास र जीवनयापनको लागतलाई प्रमुख मुद्दा बनाउने जनाएको छ।

पछिल्लो RNZ–Reid Research सर्वेक्षणमा लेबर पार्टीको समर्थन १.८ प्रतिशत अंकले घटेर निर्वाचनपछिकै न्यून स्तरमा पुगेको छ। हिप्किन्सलाई आगामी प्रधानमन्त्रीका रूपमा रोज्ने मत पनि २.६ प्रतिशत अंकले घटेर २१.३ प्रतिशतमा पुगेको सर्वेक्षणमा देखिएको छ।

हिप्किन्सले सरकार परिवर्तनसँगै देशमा सुधारको सुरुवात हुने दाबी गर्दै लेबरको अभियानलाई मतदातामाझ नयाँ सन्देशका रूपमा अघि सारेका छन्।

राष्ट्रिय पार्टीले भने लेबरको नयाँ नारामाथि आलोचना गरेको छ। राष्ट्रिय पार्टीका अभियान प्रमुख सिमोन ब्राउनले लेबरले अघिल्लो सरकारका क्रममा ऋण, कर, जीवनयापनको लागत र ब्याजदर बढाएको आरोप लगाए।

लेबरले नौवटा नयाँ कर लगाउने तयारी गरेको राष्ट्रिय पार्टीको आरोपलाई हिप्किन्सले अस्वीकार गरेका छन्। उनले लेबरले लक्षित पुँजीगत लाभ करबाहेक अन्य नयाँ करको योजना नरहेको स्पष्ट पारे।

यसअघि लेबरले आफ्नो आर्थिक रणनीति सार्वजनिक गर्दै सन् २०२९/३० सम्म OBEGAL मापनअनुसार बजेट बचतमा पुग्ने लक्ष्य घोषणा गरेको थियो।

आगामी निर्वाचनपछि लेबर नेतृत्वमा सरकार बनेमा ‘अपरचुनिष्ट’ पार्टीसँग सहकार्यको सम्भावना खुला रहेको हिप्किन्सले बताएका छन्। यद्यपि ते पाती माओरीलाई मन्त्रिपरिषद्मा सहभागी गराउने सम्भावना भने कम रहेको उनको भनाइ छ।

Photo / Rosie Leishman/nzherald