वेलिङ्टन । न्युजिल्यान्डको लेबर पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आर्थिक तथा वित्तीय रणनीति सार्वजनिक गरेको छ। लेबरले निर्वाचनमा विजयी भए २०२९/३० सम्म सरकारी बजेटलाई बचत (surplus) मा पुर्‍याउने, सार्वजनिक ऋण घटाउँदै लैजाने र स्वतन्त्र संसदीय बजेट कार्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएको छ।

लेबर पार्टीका नेता क्रिस हिप्किन्सले देशको वित्तीय अवस्था सुधार गर्दै सरकारी खातालाई पुनः व्यवस्थित गर्ने बताएका छन्। तर, त्यसका लागि सार्वजनिक सेवा कटौती गरेर वा सर्वसाधारणको जीवन थप कठिन बनाएर अघि नबढ्ने उनको भनाइ छ।

“मेहनत गर्दा त्यसको प्रतिफल पाउने, भविष्य निर्माण गर्न सक्ने र आफ्ना छोराछोरीका लागि राम्रो अवसर सुनिश्चित गर्न सक्ने देशका रूपमा न्युजिल्यान्डलाई बलियो बनाउनु आवश्यक छ,” हिप्किन्सले भने।

उनले अस्पताल, विद्यालय, पूर्वाधार, सीप विकास तथा रोजगारी सिर्जना गर्ने व्यवसायमा लगानीलाई निरन्तरता दिने बताए। उनका अनुसार आर्थिक अनुशासन कायम गर्दै भविष्यका लागि आवश्यक क्षेत्रमा लगानी गर्नु लेबरको प्राथमिकता हुनेछ।

लेबरको वित्तीय रणनीतिका मुख्य बुँदा

लेबरले सार्वजनिक गरेको वित्तीय रणनीतिमा मुख्यतः छ वटा नीति समेटिएका छन्।

पहिलो, २०२९/३० सम्म बजेट बचतमा पुर्‍याउने र त्यसपछि पनि दीर्घकालीन रूपमा दिगो वित्तीय अवस्था कायम गर्ने लेबरको लक्ष्य छ। पार्टीले सञ्चालन बचत मापनका लागि पुरानो OBEGAL (Operating Balance Before Gains and Losses) सूचकमा फर्किने र वर्तमान वित्तमन्त्री निकोला विलिसले प्रयोगमा ल्याएको OBEGALx मापनलाई हटाउने जनाएको छ।

दोस्रो, सार्वजनिक शुद्ध ऋण (net debt) लाई क्रमशः कुल गार्हस्थ्य उत्पादन (GDP) को २० प्रतिशतमा झार्ने लक्ष्य लेबरले अघि सारेको छ। साथै, आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने कार्यक्रम तथा पहलमा लगानी गर्ने जनाएको छ।

तेस्रो, पुँजीगत लाभ कर पूर्ण रूपमा कार्यान्वयन भएपछि मुख्य क्राउन सरकारी खर्च र राजस्वलाई GDP को करिब ३३ प्रतिशतको आसपास कायम राख्ने नीति लेबरले प्रस्ताव गरेको छ।

चौथो, सरकारको वित्तीय अवस्था तथा निर्वाचनका क्रममा राजनीतिक दलले गरेका आर्थिक प्रतिबद्धताको स्वतन्त्र रूपमा समीक्षा गर्न स्वतन्त्र Parliamentary Budget Office (संसदीय बजेट कार्यालय) स्थापना गर्ने प्रस्ताव गरिएको छ।

पाँचौँ, रिजर्भ बैंक अफ न्युजिल्यान्डको दोहोरो दायित्व (dual mandate) पुनःस्थापित गर्ने लेबरको योजना छ। यसअन्तर्गत रिजर्भ बैंकले मूल्य स्थिरतासँगै दिगो अधिकतम रोजगारीलाई पनि आफ्नो नीतिगत निर्णयमा ध्यान दिनुपर्नेछ।

छैटौँ, सरकारका निर्णयले न्युजिल्यान्डका नागरिकको जीवनमा पार्ने प्रभावलाई समेत ध्यानमा राख्न wellbeing reporting’ पुनःस्थापित गर्ने लेबरले जनाएको छ।

‘आर्थिक आधार कमजोर बनाएर ऋण घटाउँदैनौँ’

लेबरकी वित्त तथा अर्थव्यवस्था प्रवक्ताले बार्बरा एडमन्ड्सले आर्थिक योजना सरकारी खाता सन्तुलनमा ल्याउने र ऋण घटाउने उद्देश्यमा आधारित रहेको बताइन्।

उनका अनुसार लेबरले २०२९/३० सम्म बजेटलाई बचतमा पुर्‍याउने र समयसँगै शुद्ध ऋण घटाउनेछ। तर, त्यसका लागि अर्थतन्त्रको आधारभूत संरचना तथा सार्वजनिक सेवामा कटौती नगर्ने उनले स्पष्ट पारिन्।

एडमन्ड्सले वर्तमान नेसनल नेतृत्वको सरकारमाथि आर्थिक व्यवस्थापनको विषयमा पनि आलोचना गरेकी छन्। उनका अनुसार बेरोजगारी ११ वर्षयताकै उच्च तहमा पुगेको, व्यवसाय बन्द हुने क्रम ७१ प्रतिशतले बढेको तथा घरबारविहीनता र KiwiSaver बाट कठिन परिस्थितिमा रकम झिक्ने अवस्था रेकर्ड स्तरमा पुगेको छ।

“यो आर्थिक सफलता होइन,” एडमन्ड्सले भनिन्।

नेसनलको आर्थिक योजनासँग प्रतिस्पर्धा

लेबरको वित्तीय रणनीति सार्वजनिक भएको करिब दुई साताअघि नेसनल पार्टीले पनि आफ्नो ‘Budget Responsibility Rules’ सार्वजनिक गरेको थियो।

नेसनलकी वित्त प्रवक्ता निकोला विलिसले आफ्नो योजनालाई आर्थिक अनुशासन कायम गर्ने ‘fiscal guard-rails’ का रूपमा व्याख्या गरेकी थिइन्। नेसनल नेता क्रिस्टोफर लक्सनले यस्तो व्यवस्थाले न्युजिल्यान्डलाई सम्भावित आर्थिक धक्काबाट जोगाउन सहयोग गर्ने बताएका थिए।

नेसनलले २०२८/२९ सम्म बजेट बचतमा पुर्‍याउने लक्ष्य राखेको छ। उसले प्रयोग गर्ने OBEGALx मापनअनुसारको लक्ष्य भए पनि OBEGAL मापन प्रयोग गर्दा लेबरले प्रक्षेपण गरेको समयमै अर्थात् २०२९/३० मा बचतमा पुग्ने लक्ष्य देखाइएको छ।

नेसनलले सरकारी क्राउन खर्चलाई क्रमशः GDP को ३० प्रतिशततर्फ सीमित गर्ने र सार्वजनिक ऋणलाई GDP को ४० प्रतिशतभन्दा तल झार्ने लक्ष्यसमेत अघि सारेको छ।

यससँगै आगामी निर्वाचनमा न्युजिल्यान्डका प्रमुख राजनीतिक दलबीच ऋण, सरकारी खर्च, बजेट बचत र सार्वजनिक सेवामा लगानी कसरी सन्तुलन गर्ने भन्ने विषय मुख्य आर्थिक बहस बन्ने देखिएको छ। समाचार स्रोत र फोटो : आरएनजेडबाट