हाम्रो भान्सामा दैनिक प्रयोग हुने मेथीलाई भिजाएर तयार पारिएको मेथीपानीले मधुमेह नियन्त्रण गर्न र छालालाई घामका हानिकारक यूभी किरणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक रूपमा पुष्टि भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूको टोलीले गरेको यस अनुसन्धानलाई विश्वकै प्रतिष्ठित प्रकाशन गृह नेचर पोर्टफोलियो अन्तर्गतको ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलले प्रकाशित गरेको छ।
नास्टको विज्ञान संकायअन्तर्गत रहेको फिजिकल साइन्स ल्याबोरेटोरीका वैज्ञानिक डा. दिपेन्द्र दास मुल्मीको नेतृत्वमा सद्दाम हुसेन, प्रमोद सुवेदी र विष्णु न्यौपानेलगायतको टोलीले यो अध्ययन सम्पन्न गरेको हो। अनुसन्धान पूर्ण रूपमा नास्टकै प्रयोगशालामा उपलब्ध अत्याधुनिक उपकरणहरूको प्रयोगबाट गरिएको हो।
अध्ययनका क्रममा यूभी भिजिबल स्पेक्ट्रोस्कोपी, एक्स–रे डिफ्र्याक्टोमिटर (एक्सआरडी) र फाउरिअर ट्रान्स्फर्म इन्फ्रारेड स्पेक्ट्रोस्कोपी (एफटीआईआर) जस्ता प्रविधिको प्रयोग गरी मेथीपानीका संरचनात्मक तथा प्रकाशीय गुणहरूको विश्लेषण गरिएको थियो।
अनुसन्धानमा पहिलो, दोस्रो र तेस्रो दिनसम्म भिजाइएको मेथीपानीलाई विभिन्न स्तरको चिनी घोल (१२५, १५५ र १८५ मि.ग्रा./डेसिलिटर), मधुमेहको औषधि तथा सनस्क्रिन क्रिमसँग परीक्षण गरिएको थियो। नतिजाअनुसार मेथीपानीले मधुमेह नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्ने देखिएको छ।
चिनीको मात्रा बढ्दै जाँदा अवशोषण घट्ने तर मेथीपानीको मात्रा बढाउँदा अवशोषण बढ्ने तथ्य फेला परेको छ। यसमा हुने कोलाइडल अन्तरक्रियाले मेथीपानीले रक्तमा चिनीको स्तर घटाउन सहयोग पुर्याउन सक्ने पुष्टि गरेको छ।
त्यसैगरी, मेथीपानीले छाला संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। सनस्क्रिन क्रिमसँग मिसाएर परीक्षण गर्दा यसको यूभी सुरक्षा क्षमता उल्लेखनीय रूपमा बढेको पाइएको छ। यसले मेथीपानीलाई प्राकृतिक सनस्क्रिन यौगिक र शक्तिशाली एन्टिअक्सिडेन्टका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखाएको छ।
अनुसन्धानअनुसार मेथी भिजाएको दोस्रो दिन यसको एन्टिअक्सिडेन्ट गतिविधि सबैभन्दा उच्च स्तरमा पुग्ने पाइएको छ, जसले औषधि तथा सौन्दर्य उपचार क्षेत्रमा यसको प्रयोगलाई थप सम्भावनायुक्त बनाएको छ।
यस अध्ययनले मेथीपानीलाई रसायन विज्ञानमा ‘हरित उत्प्रेरक’ (ग्रीन क्याटालिस्ट) का रूपमा समेत प्रयोग गर्न सकिने संकेत गरेको छ।
उक्त शोध प्रकाशित भएको ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नल सन् २०२४ को जर्नल साइटेसन रिपोर्टअनुसार विश्वको तेस्रो सबैभन्दा धेरै उद्धृत हुने जर्नल हो, जसले गत वर्ष मात्रै ८ लाख ३४ हजारभन्दा बढी साइटेसन प्राप्त गरेको थियो।
यस्तो प्रतिष्ठित जर्नलमा नेपालमै गरिएको अनुसन्धान प्रकाशित हुनु नेपाली वैज्ञानिक क्षमताको अन्तर्राष्ट्रिय मान्यता भएको रूपमा लिइएको छ। अनुसन्धान टोलीका सदस्य प्रमोद सुवेदीका अनुसार यस्ता उपलब्धिहरूले नेपालमा विज्ञान तथा अनुसन्धान क्षेत्रमा थप लगानी र समर्थन जुटाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।
