हालको नतिजाले विदेशमा लाखौं रुपैयाँ खर्च गरेर चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदातालाई पनि सोच्न बाध्य बनाएको छ ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा विदेशबाट एमबीबीएस अध्ययन गरेर आएका विद्यार्थीमध्ये करिब ३४ प्रतिशत मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण र ६६ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार विदेशबाट अध्ययन गरेर आएका ५८३ परीक्षार्थीमध्ये १९९ जना मात्र उत्तीर्ण भएका छन्, जुन कुलको ३४ प्रतिशत हो । यता नेपालका मेडिकल कलेजमा अध्ययन गरेका १,२६४ जनामध्ये ९६३ जना अर्थात् ७६ प्रतिशत उत्तीर्ण भएका छन् ।
चीन, भारत, बंगलादेश, फिलिपिन्स लगायतका देशबाट चिकित्सा शिक्षा पूरा गरी नेपाल फर्किएका अधिकांश विद्यार्थी लाइसेन्स परीक्षामा असफल भएका छन् । बंगलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये ५९ प्रतिशत र फिलिपिन्सबाट सहभागी भएकामध्ये ७२ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
चिकित्सा शिक्षाविद्हरूले विदेशमा प्रदान हुने चिकित्सा शिक्षाको गुणस्तर, पाठ्यक्रम र विद्यार्थी छनोट प्रक्रियामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार दीपेन्द्र पाण्डेका अनुसार हालको नतिजाले विदेशमा लाखौं रुपैयाँ खर्च गरेर चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदातालाई पनि सोच्न बाध्य बनाएको छ ।
नेपालमा चिकित्सकका रूपमा अभ्यास गर्न काउन्सिलको लाइसेन्स परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था रहेको छ । यसलाई चिकित्सा शिक्षाको गुणस्तर परीक्षणको महत्वपूर्ण आधारका रूपमा समेत लिने गरिएको छ ।

